परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन्।
संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए।
जनसम्पर्क समिति अमेरिकाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनका लागि वर्तमान सरकारले काम गरिरहेको बताए।
‘केवल तपाईंहरूको ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ,’ उनले भने।
गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र बलियो संस्थाले मात्र विदेशमा बसेका नेपालीहरूको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरेका थिए।
विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख उनले बताए।
मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसा लगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको सङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए।
‘तपाईंहरू विकसित र प्रजातान्त्रिक देशमा बसेर यहाँ जुन प्रक्रिया र प्रणाली अङ्गिकार गर्नुभएको छ त्यसको अभ्यासमा नेपाललाई लैजान म अनुरोध गर्दछु,’ उनले भने।
नेपालको परराष्ट्र नीति हिजोका दिनमा विचार या सिद्धान्तका आधारमा कहिले दायाँ त कहिले बायाँ ढल्किएको अनुभव गरिएको भएता पनि अहिले प्राकृतिक सिद्धान्तअनुसार स्वभाविक आधारमा ल्याउन प्रयास गरिएको उनले बताए।