राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन्।
मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताए।
उनले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रूपमा मानेको नेता भएको बताए।
उनले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नुभन्दा समेत अस्वीकार गरेको स्मरण गरे।
उनले प्रतीक सहितको गणेशमान पार्कले गणेशमानको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउने विश्वास लिएको बताए।
राष्ट्रपति पौडेलले गणेशमानको साथ र सामिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गरे।
उनले गणेशमानको सामिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताए।
उनले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएको बाटोमा हिँड्नसक्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
उनले गणेशमान जस्तो महापुरूषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्त जीवन शैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्न सक्ने बताए।
उनले गणेशमान पार्कलाई नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न आग्रह गरे।
उनले भने,‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रूपमा मान्छु। नेपालमा एउटा नेता गणेशमान सिंह हो। एक पटक सम्पूर्ण नेपालीले नेता माने। वामपन्थी र कांग्रेस नभनी सबैले मानेको नेता उहाँ नै हो। राजनीतिलाई सत्ता र शक्तिको साधन होइन। राष्ट्र निर्माणको लागि जीवन सर्मपण गर्ने आदर्श त्याग र निष्ठाको निस्काम कर्महरू भनेर प्रमाणित गर्ने गणेशमानको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ। वाटिकाले गणेशमानको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउँछ। उहाँको साथ र सामीप्यता मेरो राजनीतिक जीवनमा पनि पाए। त्यसले मलाई सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको छ।'
उनले अगाडि भने, 'लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन। जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्यौं भने मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। यस्ता महापुरूषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्त जीवनशैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्न सक्ने मैले देखेको छु। नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्नुहोला।’
राष्ट्रपति पौडेलले भक्तपुर बासीको लागि गणेशमान सिंहको प्रतीक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको बताए।
उनले गणेशमान सिंह पार्कले भक्तपुरको भाग्य कोर्न मद्दत गर्ने बताए।
उनले पार्कले भक्तपुरको पर्यटन विकासलाई महत्वपूर्ण योगदान गर्ने बताए। उनले भक्तपुर बासीहरूले गणेशमान सिंह पार्क बनाए भनेर चित्त दुखाउने ठाउँ नभएको बताए।