कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दुईजना सल्लाहकार थपेका छन्।
मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले मुख्यमन्त्रीको सल्लाहकारमा थप दुई जनालाई नियुक्त गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।
मुख्यमन्त्री शर्माको जनसम्पर्क सल्लाहकारमा सुर्खेतका हरिमाया शर्मा नियुक्त भएकी छन्।
नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य समेत रहेकी शर्मा २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको उम्मेदवार थिईन्। उनी त्यतिबेला मोहनमाया ढकालसँग पराजित भएकी थिइन्।
उनी २०७९ को निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधि सभाको उम्मेदवार पनि थिइन्।
मुख्यमन्त्री शर्माको प्रेस सल्लाहकार (विज्ञ) मा सल्यानका प्रतीक इच्छुक शर्मालाई नियुक्त गरिएको छ। शर्मा प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश अध्यक्ष हुन्।
मुख्यमन्त्री शर्माले यसअघि प्रशासनिक सल्लाहकारमा रुकुम पश्चिमका भरतकुमार शर्मालाई नियुक्त गरेका थिए।