प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भरोसायोग्य न्याय प्रणालीको स्थापना गर्न न्यायपालिका प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा न्यायपालिका प्रतिबद्धता रहेको स्पष्ट पारेका हुन्।
उनले विधिको शासनको सुनिश्चितता र संविधानको कार्यान्वनयमा न्यायपालिका सँधै प्रतिबद्ध रहेको बताउँदै न्यायपालिकाले गरेको सुधारप्रति विश्वस्त हुन र सो कार्यमा आ–आफ्नो स्थानबाट सहयोग पुर्याउनसमेत सम्बद्ध सबैमा अपिल गरेका छन्।
प्रधानन्यायाधीश श्रेष्ठले नेपालको संविधानले सुम्पिएको जिम्मेवारी र भूमिकाप्रति संवेदनशील हुँदै छिटोछरितो, सहज एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न न्यायपालिका संवेदनशील रहेको बताएका छन्।
उनले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको उल्लेख गर्दै संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका साथै सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य लिएको बताएका छन्।
‘संविधानवाद, न्याय र समानता प्रस्तुत संविधानको मूल आत्माको रूपमा रहेको छ,’ शुभकामना सन्देशमा उल्लेख छ, ‘राज्यका सबै निकायको संविधानको मर्म र भावना अनुरूपको सोच, दृष्टिकोण र व्यवहारबाट नै संविधानको सहीरूपमा कार्यान्वयन हुनसक्छ।’
आजको दिन नेपाली जनताले आफ्ना प्रतिनिधि रहेको संविधानसभामार्फत संविधान निर्माण गर्ने लामो समयदेखि राखेको चाहना पूरा भएको दिन भएको र त्यसैले संविधान निर्माणको प्रक्रिया तथा संविधानमा अन्तर्निहित विषयवस्तुका दृष्टिकोणबाट पनि नेपालको संविधानको विशिष्ट महत्व रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ।