नेपाली कांग्रेसको राजनीतिमा बेग्लाबेग्लै समूहमा रहेका तीन नेताहरू आज एकै मञ्चमा देखिने भएका छन्।
शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइराला बिपी साहित्य महोत्सवमा बुधबार केन्द्रीय कार्यालय सानेपाको प्राङ्गणमा हुने कार्यक्रममा सहभागी हुँदैछन्।
उनीहरू तीनै जना कांग्रेस केन्द्रीय सदस्य हुन्।
०७८ मा भएको कांग्रेस महाधिवेशनमा शशांक मौन बसे। उनी केन्द्रीय सदस्य मात्रै उठेका थिए। शशांकलाई सभापति पदका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखरले आ-आफ्नो प्यानलमा केन्द्रीय सदस्य उम्मेदवार बनाएका थिए।
त्यसबेला आफ्ना दाजु शेखरलाई साथ नदिएको आरोप शशांकमाथि लागेको थियो। अहिले पनि शशांक शेखर पक्षमा खुलेका छैनन्। उनी सभापति देउवानिकट छन्। ०८२ मा हुने भनिएको १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारी शशांकको छ।
आफूलाई सभापति देउवाले त्यसबेला सभापतिमा सहयोग गर्ने विश्वास शशांकको छ।
शेखर भने १४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग पराजित भएका थिए। उनले कांग्रेसभित्र संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका छन्। शेखर पनि १५ औं महाधिवेशनमा सभापति उम्मेदवार हुने तयारी गर्दैछन्।
सुजाता भने नेता प्रकाशमान सिंह प्यानलबाट उपसभापति उम्मेदवार भएर पराजित भएकी थिइन्। उनी केन्द्रीय सदस्य छिन्। पछिल्लो समय उनी खासै राजनीतिक कार्यक्रमहरूमा देखिएकी छैनन्।
कोइराला परिवारका यि तीनै जना नेता आज पार्टी कार्यालयमा हुने बिपी साहित्य महोत्सवमा एकैसाथ देखिनेछन्। ‘परिवारले बुझेका बिपी’ शीर्षकमा उनीहरूले बोल्ने कार्यक्रम छ।
राजनीतिक कार्यक्रमहरूमा यी तीन जना नेताहरू एकसाथ नदेखिएको लामो समय भइसकेको छ। तर पारिवारिक जमघटमा भने उनीहरू सँगै देखिन्छन्।