सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताएकी छन्।
युनियन अफ आइसिटिएस प्रोफेसनल्स नेपालले आयोजना गरेको ‘नेपालमा दिगो रोजगारी आर्थिक वृद्धिका लागि सञ्चार क्षेत्रको सुदृढीकरण’ विषयक सामाजिक संवादलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्ने बताइन्।
सूचना तथा सञ्चार प्रविधिको विकासका लागि सरकारले नीति, कानुन र पूर्वाधार निर्माणका काम गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताइन्।
‘सरकारले चालु आर्थिक वर्षको बजेटबाटै आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ सूचना प्रविधि क्षेत्रलाई पनि समेटेर सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेको छ’ मन्त्री शर्माले भनिन्,‘सूचना प्रविधिमा आधारित उत्पादन वृद्धि र रोजगार प्रवर्द्धनका लागि संघीय सरकारले कानुन, पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गरेको छ भने प्रदेश र स्थानीय तहहरूलाई पनि यसका लागि हामीले प्रोत्साहन गरिरहेका छौं।’
सूचना प्रविधिमार्फत् आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने गरी सरकारले जनशक्ति उत्पादन, उत्पादन वृद्धि र त्यसको बजारीकरण लगायतका क्षेत्रमा सहजीकरण गरिरहेको र यो पर्याप्त नभएकाले अझै बढाएर लैजाने तयारी गरिएको जानकारी पनि उनले दिइन्।
यो वर्षदेखि सूचना प्रविधि विषयमा उच्च तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री शर्माले आविष्कार र नवप्रवर्तनमा थप आकर्षित गर्ने गरी डिजिटल च्याम्पियन, आइटी एक्जिविसन लगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पनि जानकारी दिएकी छन्।