नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले केन्द्रीय अनुशासन समितिको भूमिकाबारे प्रश्न उठाएका छन्।
शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्दै शिवाकोटीले अनुशासन समितिले गुट विशेषलाई फाइदा हुने काम गरेको आरोप लगाए।
‘अनुशासन समितिका नाममा सेलेक्टिभ निर्णय हुने कुराले गुटलाई बाहेक पार्टीलाई फाइदा गर्दैन,’ उनले भने। कांग्रेस अनुशासन समितिमा केन्द्रीय सदस्यहरूविरूद्ध पनि अनुशासन उजुरी परेका छन्।
उनले पर्सा क्षेत्र नम्बर १ का सभापतिलाई काम गर्न रोक्ने गतिविधि भइरहेकोमा पनि ध्यानाकर्षण गराएका छन्।
‘ललितपुरमा पनि आरोपित व्यक्तिलाई कार्यक्रममा सहभागी किन नगराएको भन्दै जिल्ला नेतृत्वलाई पत्र पठाएर अनुशासन समितिका संयोजकले दोहोरो मापदण्ड अपनाउनु भएको छ,’ उनले भने, ‘म सभापतिज्यूलाई सोध्न चाहन्छु, के आधारमा यस्तो दोहोरो मापदण्ड अपनाइन्छ?’
उनले देशभरका शिक्षकहरु आफ्ना माग लिएर काठमाडौंको सडकमा आन्दोलन गरिरहेको बताए।
शिक्षकहरू सडकमा हुँदा सामुदायिक विद्यालयमा अध्ययनरत लाखौं विद्यार्थी पढन पाउने मौलिक अधिकारबाट वञ्चित भएको उनले बताए। ‘तत्काल उनीहरूको माग पूरा गरी विद्यार्थीको मौलिक हक कुन्ठित नगर्न यो बैठकले सरकारलाई निर्देषित गरोस्,’ उनले भने।