दाङमा खुकुरी प्रहारबाट घाइते भएकाले एक जनालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भेटेका छन्।
शनिबार तुलसीपुरमा एक व्यक्तिले तीन जनामाथि खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु र दुई जना घाइते भएका थिए। घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। त्यहाँ पुगेर मुख्यमन्त्री चौधरीले घाइते ४५ वर्षीय वीरबहादुर हमाललाई भेटेका हुन्।
अस्पताल पुगेर उनले चिकित्सकसँग हमालको स्वास्थ्य अवस्था बुझेका छन्। भेटका क्रममा घाइते वीरबहादुरले खुकुरी प्रहारबाट आफू भाग्यले जोगिएको बताएका थिए।
‘मलाई उसले हत्या गर्ने उद्देश्यसहित घाँटीमै प्रहार गर्न खोजेको थियो,’ वीरबहादुरले भने, ‘मैले हातले खुकुरी छेकेर ज्यान जोगाउन सफल भएँ।’
खुकुरी प्रहारबाट उनकी ६५ वर्षीया आमा कमला भनिने चन्द्रकुमारी हमाल पनि घाइते छिन्। वीरबहादुरले आफ्नी आमाको उपचारका लागि सरकारले सघाउन मुख्यमन्त्री चौधरीसँग माग राखेका छन्।
जवाफमा मुख्यमन्त्री चौधरीले व्यक्तिगत रूपमा आफूले र प्रदेश सरकारमा समेत सल्लाह गरी त्यसबारे निर्णय गर्ने आश्वासन दिए।
कमलालाई तुलसीपुरमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँके तर्फ रिफर गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका ३९ वर्षीय टेकबहादुर हमालले शनिबार दिउँसो छिमेकी ४३ वर्षीया रिता लामिछानेमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए।
लामिछानेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन्।
डिएसपी पोखरेलका अनुसार देउता चढेको भन्दै घरबाट खुकुरी लिइ निस्केका टेकबहादुरले गाउँमा जो भेटिन्छन् उनैमाथि खुकुरी प्रहार गरेका थिए। घटनाका आरोपित टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।