नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनतामा निराशा देखिएको बताएका छन्।
सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै केसीले समाजमा व्यापक निराशा र असन्तुष्टि देखिएको बताए।
‘हाम्रो समाजमा व्यापक निरासा र असन्तुष्टि छ, बेथिती, अव्यवस्था, विधिविहीनता र भ्रष्टाचार किन मौलाइरहेको छ? सुशासन केबल नारामा मात्र किन सीमित छ?,’ उनले प्रश्न गरे।
जनतामा नयाँ आशा, विश्वास र भरोसाको प्रत्याभूति दिने वातावरण निर्माण गरिनुपर्ने उनले बताए।
‘पार्टी कब्जाको होडमा हामी छौँ, सभापति पनि आफ्नो ढंगबाट लाग्नुभएको होला। हामी पनि लागेका छौं तर जनता अर्कैले कब्जा गरिसकेका छन्। जनता पार्टीबाट टाढाटाढा हुँदैछन्। जनताको खाँचो, पार्टीहरूले जनतामा बाँडेको आश्वासन र सो अनुरुप नभएको अवस्थाले ल्याएको फरक को खाली ठाउँमा आमअसन्तुष्टि र निरासा मात्र होइन जनआक्रोशले विकल्पको बाटो खोज्दैछ,’ उनले भने।
अनुशासनको कारवाही विधान र कार्यविध अनुसार सबैमाथि बराबरीको रुपमा लागु हुनुपर्ने उनले बताए।
‘आर्थिक स्थिति दिनप्रतिदिन झन्झन् जटिल अवस्था र अधोमुख तिर उन्मुख छ। आर्थिक मन्दीको अवस्थाले साना व्यापारी–व्यावसायीहरू सटर बन्द गर्न बाध्य भएका छन् भने ठूला व्यापारीहरू निरास छन्,’ उनले भने, ‘छोराछोरी विदेशिएको कारणले गाउँ यति सुनसान भइसक्यो कि गाउँको उत्पादनशीलताको कुरै छोडौं, प्रियजनको अन्त्येष्टिको लागि पनि मृतकले सन्तानलाई कुर्नुपर्ने भइसक्यो।’
लगानी–उत्पादन–निर्यात–रोजगारी आर्थिक विकासका यी चार आधारभूत पक्षमा मुलुक एकदमै कमजोर अवस्थामा भएको परिसूचक र तथ्याङ्कमा छर्लङ्ग रहेको उनले बताए।