नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशनअन्तर्गत बन्दसत्र भोलि (मंगलबार) बिहान ८ बजेदेखि सुरू हुने भएको छ।
प्रदेश अधिवेशनको सोमबार दिउँसो भृकुटीमण्डपमा उद्घाटन गरिएको थियो।
प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुने कार्यालय सचिव शुभराज पोखरेलले बताए।
‘आज उद्घाटन सत्रको कार्यसूची थियो। बन्दसत्र भोलि बिहानबाट सुरू हुने छ,’ उनले भने।
बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पेस हुने छ। राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुने छ।
प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन्। सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएका हुन्।
नौ सय प्रतिनिधि भूगोलबाट, ७० जनसंगठनबाट र ३० विभागबाट चुनिएर आएका छन्। कूल प्रतिनिधि संख्याको पाँच प्रतिशत मनोनित गर्न पाउने प्रावधान विधानमा छ। ती प्रतिनिधि चुनिन बाँकी रहेको बताइएको छ।
संघीयता कार्यान्वयनमा आएपछि एमालेले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो।
एमाले बागमतीको अध्यक्षका लागि दुई केन्द्रीय सदस्यसहित अहिलेसम्म ५ जना आकांक्षी मैदानमा देखिएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका छन्।
‘चुनाव लड्नुस्, लड्न दिनुस्। स्वस्थ प्रतिस्पर्धा गर्नुस्। प्यानल बनाएको थाहा भयो भने प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुन सक्छ,’ उद्घाटन सत्रलाई सम्बोधन गर्दैै अध्यक्ष ओलीले भने।
अध्यक्ष मण्डललाई त्यो अधिकार राखेर काम गर्न पनि ओलीले आग्रह गरे।
‘प्यानलाइज गर्ने दुई फ्याकमा बाँड्ने यो खालका अभ्यासहरू कसैले नगरून्। स्वस्थ प्रतिस्पर्धा गर्नुस्, हार जितलाई स्वीकार्नुस्,’ उनले भने,‘भोलि पल्टबाट मेरो पक्षमा भोट हालेको, मेरो विपक्षमा भोट हालेको भनेर कुनै प्रकारले खोजीनीति गर्न विभेद गर्न पाइँदैन। यो कुरालाई ध्यानमा राख्नुस्।’
नेतृत्व चयनका लागि सर्वसम्मतिका लागि प्रयास भए पनि चुनावै हुने देखिएको एक नेताले बताए।
सर्वसम्मतिका लागि प्रयास भइरहेको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्।
‘सर्वसम्मत बनाउनुपर्छ भनेर नेतृत्वले लाद्ने, निर्णय सुनाउने होइन प्रतिनिधिकै बीचबाट सर्वसम्मत भएर आउनुपर्छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘पार्टी अध्यक्षज्यू ओखलढुंगा जानु भएकाले हामीले छलफल गर्न पाएका छैनौं। मैले बागमती प्रदेशको मौजुदा नेतृत्वलाई विधिमार्फत् नै टुंगोमा पुग्नुहोस् भनेको छु।’
उनले मैदानमा देखिएका आकांक्षी क्षमतावान् भए पनि लामो समयदेखि पार्टी काममा क्रियाशील, कम जिम्मेवारी पाएकालाई चुन्नुपर्ने पनि बताइन्।
प्रदेश अध्यक्षको दौडमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल अगाडि देखिएका छन्। ढुंगेल बागमती प्रदेशको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजना मन्त्री थिए।
रामेछापको तीन पटक पार्टी नेतृत्व सम्हालिसकेका उनी अहिले केन्द्रीय सदस्य छन्। रामेछापको संसदीय निर्वाचनमा चार पटक पराजित भएका उनी २०७४ को निर्वाचनमा भने प्रदेश सभामा निर्वाचित भएका थिए।
कृष्ण दाहाल पनि भूगोलमा लामो समय पार्टी प्रमुख भएर काम गर्नेमा पर्छन्। मकवानपुरबाट २०४८, २०५१, २०५६, २०७४ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका उनले तीन पटक चुनाव जिते। २०५१ सालमा कमल थापासँग पराजित भएका थिए।
प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा अर्थ समितिको सभापतिसमेत थिए उनी।
दाहाल नेतृत्व सहज ढंगले चयन हुने बताउँछन्।
‘पार्टी नेतृत्व यसमा निरपेक्ष नै रहन्छ, बस्नु पनि पर्छ। सकेसम्म सर्वसम्मतिको प्रयास हुन्छ। नभए उम्मेदवारहरू बसेर सहमतिको प्रयास गर्छौं। सहमति भएन भने प्रतिनिधिहरूले आफ्नो नेता आफैं छान्नुहुन्छ। पार्टीको विधि, पद्धति यही हो,’ उनले भने।
बागमती प्रदेश अध्यक्षमा अहिले केशव पाण्डे छन्। पार्टीको एउटा पंक्ति उनको नाममा सर्वसम्मतिको प्रयास पनि गरिरहेको छ।
तर, केही जिल्ला अध्यक्षबाहेक उनको पक्षमा नदेखिएकाले उनको नाममा सर्वसम्मतिको सम्भावना नरहेको एक नेताले बताए।
स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलगायत केही नेताको चाहना सानुकुमार श्रेष्ठमा पनि देखिएको छ। अघिल्लो कार्यकालमा बागमती प्रदेशको सभामुख रहेका उनी पार्टीको केन्द्रीय कमिटीमा छैनन्।
उनी भूगोलबाटै प्रतिनिधि छानिएर आएका छन्। उपत्यकाका केही नेताहरूको चाहना उनलाई सर्वसम्मत अध्यक्ष बनाउन पाए हुन्थ्यो भन्ने पनि रहेको एक पदाधिकारीले बताए।
चितवनका कृष्णभक्त पोखरेलले पनि अध्यक्षको आकांक्षा राखेका छन्। सर्वसम्मतिका लागि प्रयास गर्नुपर्ने र चुनावै हुने परिस्थिति आएमा आफू पनि अघि सर्ने उनले बताएका छन्।
चुनावै हुँदा कैलाश ढुंगेल र कृष्ण दाहालका बीचमा हुने ती पदाधिकारीको भनाइ छ।
एमाले बागमती प्रदेशमा ४ सय ७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ। १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन्।
अधिवेशनले ५० प्रतिशतभन्दा बढी आकार घटाउने छ। अबको अधिवेशनले २४० सदस्यीय कमिटी निर्वाचित गर्ने छ। प्रदेश कमिटी निर्वाचित गर्दा ७५ आधार सदस्य हुने छ। प्रतिनिधि सभाका ३३ निर्वाचन क्षेत्रबा ५–५ जनाका दरले निर्वाचित हुँदा २४० जना पुग्ने छ।
जिल्ला अध्यक्ष प्रदेशको पदेन अध्यक्ष हुने छन्। प्रदेश अध्यक्ष पोलिटब्युरोको पदेन सदस्य हुने छन्।