राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता लिनबाट बञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु आफ्ना लागि अविस्मरणीय रहेको बताएका छन्।
जनकपुरमा सोमबार आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
‘देशको कुनै जायज नागरिक नागरिकताविहीन नरहून् र देशको प्रत्येक नागरिकमा भेदभावरहित रूपले स्वतन्त्रता, समानता र बन्धुत्वको अनुभूति गराउने कानूनी राज्य र सामाजिक न्यायको भौतिक सम्वृद्धिसँगै साहित्य, कला, क्रिडा, ज्ञान विज्ञान तथा प्रविधि आदि सबै क्षेत्रमा विश्वका सबै समुन्नत राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगौं भन्ने चाहना प्रत्येक नेपालीको हो’, उनले भने, ‘नागरिकता लिनबाट बञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय रहनेछ।’
राष्ट्रपति पौडेलले नेपालको राष्ट्रिय एकताको चुरो मधेशमा रहेको भन्नेमा आफू सधैं दृढ रहेको बताए।
उनले भने, ‘राष्ट्रिय एकता र रूपान्तरणमा मधेशको सबल भूमिका रहँदै आएको छ र सधैं रहने कुरामा म विश्वस्त छु नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बीपी कोइरालाले भनेझैं म नेपालको राष्ट्रियताको चुरो नै मधेसमा रहेको छ भन्नेमा सधैं दृढ छु।’
उनले समथर फाँट रहेको अन्नभण्डार मधेश प्रदेशको समग्र विकास, उन्नति र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने आफ्नो सधैंको अटल विश्वास रहेको स्पष्ट पारे।
‘व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ महान हो भन्ने आत्मबोध अनुकुलको वैयक्तिक चेतनाको संस्कार विकास नै सम्पूर्ण रूपान्तरणको प्रस्थान बिन्दु हो’, राष्ट्रपति पौडेलले भने।
सो समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशलाई अधिकार नदिएको गुनासो गरेपछि राष्ट्रपति पौडेलले प्रदेशलाई अधिकार दिन नेताहरूले कन्जुस्याइँ गरेको धारणा राखे।
उनले दिल खोलेर जनतालाई अधिकार दिन तीन मुख्य दलका तीन नेतालाई आग्रह गरे।