नेपाली कांग्रेस संखुवासभा सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन्।
खड्काले बुधबार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्।
खड्काका स्वकीय सचिव भुपाल बस्नेतले जिल्ला सभापति पदबाट खड्काले राजीनामा दिएको सेतोपाटीलाई जानकारी दिए। खड्का प्रतिनिधि सभा सदस्य छन्।
‘प्रतिनिधि सभा सदस्य भएकोले उहाँले जिल्लामा संगठन निर्माणलगायतका काममा धेरै समय दिन पाउनुभएन, त्यसैले राजीनामा दिनुभएको हो,’ बस्नेतले भने।
खड्का २०७८ असोजमा भएको जिल्ला अधिवेशनबाट अर्का उम्मेदवार राईमान राईलाई हराउँदै सभापति भएका थिए।
उनले आफूले दिएको राजीनामा स्वीकृत गरी विधानअनुसार जिल्लाका अन्य साथीमध्येबाट सभापति चयन गर्न पनि आग्रह गरेका छन्।
