काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच वार्ता जारी छ। राष्ट्रिय सभा गृहमा बुधबार दिउँसोदेखि जारी वार्ता सहमतिउन्मुख रहेको एक सदस्यले जानकारी दिए।
'हिजो मिल्न नसकेको चौथो बुँदामा केही हेरफेर गरेर अन्तिम रूप दिने तयारी भइरहेको छ,' महानगरपालिका स्रोतले सेतोपाटीलाई भन्यो।
केही स्थानमा समय तोकेर फुटपाथमा व्यापार गर्न दिने विषयमा वडाध्यक्षहरूसँग कुराकानी भइरहेको स्रोतको भनाइ छ।
मंगलबारको वार्तामा साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने, कोटेश्वर चोकबाट जडिबुटी जाने बाटो, तिलगंगाअगाडि, चाबहिल मालपोत पछाडिलगायत केही ठाउँमा समय तोकेर छठसम्म व्यापार गर्न एक हप्ताभित्र ठाउँ उपलब्ध गराउने सुरूआती समझदारीमा पछि कुरा मिलेको थिएन।
आज त्यसैमा दुवै पक्षलाई मान्य हुने गरी मिलन विन्दु खोजिएको महानगरपालिका स्रोतले बतायो।
वार्तामा मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल, सचिवालय सहजकर्ता धिरज जोशी र ईःका तर्फबाट सौरभ न्यौपाने र ईः आफैं रहेको बताइएको छ।