राष्ट्रपति रामचन्द्र पौडेलले न्यूरोडस्थित जुद्धशम्शेर राणाको शालिकदेखि बसन्तपुरस्थित गद्दी बैठकसम्म हिँडेरै ईन्द्रजात्रा हेर्न जाने तयारी गरेका छन्।
ईन्द्रजात्रा अवलोकनका लागि बिहीबार दिउँसो राष्ट्रपति पौडेल बसन्तपुर जाने कार्यक्रम छ।
‘जुद्धशम्शेरको शालिक भएको ठाउँमा झरेर त्यहाँबाट बसन्तपुरसम्म हिँडेरै जाने राष्ट्रपतिज्यूको चाहना छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘तर नेपाली सेनाले सुरक्षा प्रोटोकल देखाएर हिँडेर जान मिल्दैन, गाडीमै जानुपर्छ भनिरहेको छ।’
राष्ट्रपति पौडेलले भने जुद्धशम्शेरको सालिक भएको ठाउँमा झरेर जनतासँग भेट्दै जात्रा हेर्न आफूले चाहेको बताएको उनले जानकारी दिए।
‘उहाँले म हिँडेरै, जनतालाई अभिवादन गर्दै जान्छु भन्नुभएको छ। तर सेनाले विगतका अभ्यास र सुरक्षा प्रोटोकल देखाएर मिल्दैन भनिरहेको छ, राष्ट्रपतिज्यूले अडान छाड्नुभएको छैन,’ उक्त स्रोतले भन्यो।