नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कर्णाली प्रदेशको पार्टी अध्यक्ष सर्वसम्मत चुन्न निर्देशन दिएका छन्।
प्रदेश इन्चार्ज लेखराज भट्टलाई सर्वसम्मतिको निर्देशन दिएर महासचिव पोखरेल बिहीबार सुर्खेतबाट काठमाडौंतर्फ लागेको स्रोतले जानकारी दियो।
बुधबार सुरू भएको एमाले कर्णाली प्रदेश अधिवेशनमा बिहीबार दिउँसोसम्म बन्द सत्र सुरू हुन सकेको छैन।
एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलले मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेका छन्।
स्थायी कमिटी सदस्य यमलाल कँडेलले प्रदेशको निर्णय प्रदेशले नै गर्ने भन्दै गुलाबजंग शाहलाई उम्मेदवार बनाउने बताएपछि सर्वसम्मत अध्यक्ष चुनिने सम्भावना लगभग टरेको स्रोतको भनाइ छ। कँडेल यसअघि एमालेको कर्णाली प्रदेश ईन्चार्ज थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अधिवेशन उद्घाटन गरेका थिए।
बुधबार उद्घाटन सत्रपछि अध्यक्ष ओलीले शाहीलाई कर्णाली प्रदेशको अध्यक्ष बनाउनुपर्ने भन्दै उनकै नाममा सर्वसम्मति गर्न निर्देशन दिएका थिए।