नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न राम्रो प्रयत्न नगरेको बताएका हुन्।
उनले दैनिक उपभोग्य वस्तुहरूको अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको बताए।
मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
उनले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसदमा आवाज उठाइरहेको र संसद नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको बताए।
‘यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन। अन्धाधुन्ध भाउ एकैचोटी बढाउने। कुनै औचित्य छैन त्यसमा,’ उनले भने, ‘थोरै-थोरै बढाउनु त एउटा कुरा होला। त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला। तर जसरी आफ्नो हिसाबले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षित गराउन चाहन्छौं।’