नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकका सबै वडामा एमालेलाई ५१ प्रतिशतभन्दा माथिको अवस्थामा पुर्याउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
‘मुलुकको हरेक वडामा कम्तीमा ५१ प्रतिशतको अवस्थामा एमालेलाई पुर्याउन पर्यो’, पार्टी कोशी प्रदेश कमिटी अधिवेशन उद्घाटन गर्दै विराटनगरमा ओलीले शुक्रबार भने, ‘मिसन ८४ को लक्ष्य र आधार त्यही हो।’
८४ को चुनावलाई लक्ष्य बनाएर हरेक वडामा एमालेलाई पहिलो बनाउने काममा लाग्नुपर्ने उनको भनाइ थियो।
आफूलाई प्रधानमन्त्री हुँदा प्रचण्ड र माधव नेपालहरूले 'दक्षिणपन्थीहरूको साथ लागेर हटाएको' आरोप लगाउँदै उनले थपे, ‘कम्युनिस्ट पार्टी फुटाउने, सरकार ढाल्ने षड्यन्त्र प्रचण्ड र माधवले गरे। अहिले उनीहरू नै वाम एकताको अनावश्यक कुरा उठाइरहेका छन्। यी कोही पनि वाम होइनन्। हामी मात्रै वाम शक्ति हौं। एमाले बलियो बनाएर अघि बढौं। अन्यत्र शिला खोज्न नलागौं।’
एमालेले भनेको बाटोमा हिँडे मात्रै देश बनाउन सकिने दाबी गर्दै ओलीले एमाले बाहेकका दलहरूले देश बनाउन नसक्ने पनि ठोकुवा गरे।
‘हामीले मात्रै हो देश बनाउन सक्ने’, उनले भने, ‘तर, एमालेले देश बनाउने भयो भन्ने त्रासले आतिएकाहरूले अनेक षड्यन्त्र गरेर पार्टी फुटाए। सरकार ढाले’ यी प्रसङ्ग कोट्याउँदै ओलीले आगामी दिनमा एमाले एक्लै शक्तिशाली हुनुपर्ने बताए।
कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनमा आजै बन्दस्त्र सुरू हुँदैछ।
संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक अधिवेशनमा जुटेको एमालेले यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ। हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन्।
एमाले प्रदेशको अध्यक्ष बन्न प्रदेश कमिटीका हालका अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्य विनोद ढकाल, नेताहरू घनश्याम खतिवडा र टीकाराम चेम्जोङ दौडमा छन्। यीमध्ये विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङ चुनाव लडेरै भए पनि नेतृत्वमा जाने मानसिकतामा छन्। अध्यक्ष न्यौपाने भने सर्वसम्मत भए दोहोरिने अन्यथा प्रतिष्पर्धामा नजाने सोचमा रहेको नेताहरू बताउँछन्।
पार्टी नेताहरू सहमतिमा प्रदेशको नेतृत्व चयन गर्नुपर्ने पक्षमा भए पनि दाबेदारहरू भने परिआए चुनाव लड्ने मनस्थितिमा छन्।
अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न र नभए स्वस्थ प्रतिस्पर्धा गर्न आकाङ्क्षीहरूलाई आग्रह गरेका छन्।
‘पार्टीमा अहिले एकता चाहिएको छ, दुनियाँ विरूद्धमा लाग्दा पनि एमाले बलियो छ’, उनले भने, ‘पार्टीमा प्रतिस्पर्धा हुनसक्छ। तर, त्यसलाई हार्दिक र एकतावद्ध रूपमा लिनेगरी सबैले ग्रहण गर्नुपर्छ।’