नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको नेृतत्व चयन प्रक्रिया लम्बिएको छ।
शनिबार दिउँसो १२ बजे हुने भनिएको मतदान ७ बजिसक्दा पनि सुरू हुन सकेको छैन। अहिले मतदानका लागि मतपत्र छपाई सुरू भएको निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकामा शनिबार बिहान ८ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने भनिएको थियो।
तर अपराह्न साढे ४ बजेपछि मात्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो। अझै पनि आजै मतदान हुने वा नहुने भन्ने यकिन भएको छैन।
‘मतपत्र छपाई भइरहेको छ, आजै मतदान गर्ने निश्चित भएको छैन,’ अध्यक्ष मण्डलका एक सदस्यले भने।
शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकिएको थियो।
शनिबार राति नै मतगणना गरी आइतबार बिहान परिणाम सार्वजनिक गर्ने कार्यतालिका छ।
एमालेको कर्णालीको नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा तीन जनाको उम्मेदवारी छ। शुक्रबार पाँच जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएका छन्।
कालीकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। अब मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको उम्मेदवारी अध्यक्षमा कायम छ। शाही स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका हुन् भने शाह यामलाल कँडेल समूहका हुन्।