नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी अहिलेको अवस्थाबाट रूपान्तरण गर्न तीन प्रस्ताव राखेका छन्।
कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार राष्ट्रिय सभा गृहमा गरेको कार्यक्रममा थापाले सदस्यता वितरण, उम्मेदवार छनौट र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे बहसको प्रस्ताव राखेका हुन्।
‘अनलाइनबाटै कांग्रेसको सदस्यता वितरण गर्न सुरू भइसक्यो। साधारण सदस्यता लिएको एक वर्षपछि उसले क्रियाशील पाउँछ,’ उनले भने, ‘अब कसैलाई क्रियाशील दिन्न भन्न मिल्दैन।’
उनले ०८२ मा कांग्रेसको १५ औं महाधिवेशन हुने भएकोले त्यसको एक वर्षअघि ०८१ भित्रै क्रियाशील सदस्यताको टुंगो लागिसक्ने बताए।
‘क्रियाशील सदस्य ०७८ को १४ औं महाधिवेशनमा ८ लाख थियो। अब बढेर १५ लाख हुन पनि सक्छ भने घटाएर ५ लाख पनि हुन सक्छ,’ उनले भने।
थापाले पार्टीको विधानमा रहेको संसदीय बोर्ड नै खारेज गरिनुपर्ने बताएका छन्। कांग्रेस विधानअनुसार चार तहमा संसदीय बोर्ड छ, जसले चुनावमा उम्मेदवार छनौट गर्छ।
‘संसदीय बोर्ड नै खारेज गरौं, चाहिन्न यो,’ उनले भने, ‘जुन तहको चुनावको उम्मेदवार चाहिन्छ पार्टीको सम्बन्धित तहले नै उम्मेदवार छान्छ। केन्द्रबाट उम्मेदवार पठाउन बन्द गरौं।’
उनले भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे पनि पार्टीले गम्भीर ढंगबाट सोच्ने बेला आएको बताए।
‘हामीले नेविसंघ ठूलो (७११ सदस्यीय) बनाऔं, महिला संघ सानो आकारको बनाऔं,’ उनले भने, ‘ठूलो र सानो जस्तो बनाए पनि दिनकै डेलिकेशन आइरहेका छन्, समस्या देखिएको छ।’
तर शुभेच्छुक संघसंस्थामा भने नियमित अधिवेशन हुने गरेकोले पार्टीलाई 'हाइसञ्चो' भएको उनले बताए।
‘भ्रातृ संस्था कि सभापतिबाट मनोनीत गर्ने गरौं कि स्वतन्त्र बनाऔं,’ उनले भने, ‘उहिलेदेखि अहिलेसम्म पनि भ्रातृ संस्थामा भंग हुने, गठन हुनेजस्ता समस्या देखिइरहेका छन्।’
भ्रातृ संस्था र पार्टीसँगका सम्बन्धबारे पनि छलफल हुनुपर्ने उनले बताए।
उनले शिक्षक, कर्मचारी, प्राध्यापकलगायत पार्टी सदस्य बन्न नपाउने कानुन रहेको बताए। ‘शिक्षक पार्टीमा लागेको विषयमा अख्तियार, निर्वाचन आयोग लगायतबाट पार्टी कार्यालयमा पत्र आएका छन्,’ उनले भने, ‘शिक्षक राजनीतिमा आउने भए पेशा छाडेर आउनुपर्छ।’
यति कुरामा परिमार्जन गर्न सकियो भने पार्टीभित्र गुट पनि नरहने थापा बताउँछन्।
‘यति कुरा गरियो भने पार्टीभित्र स्थायी गुट रहन्न, एजेन्डामा आधारित गुट बन्न सक्छ,’ उनले भने, ‘अहिले पार्टी संरचना यस्तो बन्यो कि कुनै गुटमा नलागे वडा सदस्य, नेविसंघ केन्द्रीय सदस्य नै हुन नपाइने!, यस्तो संरचना नै परिवर्तन गर्नुपर्छ।’
उनले पार्टीलाई रूपान्तरण गर्नका लागि तलदेखि माथिसम्म एक पटक 'बड्याङबुडुङ' गरी हल्लाउनुपर्ने पनि बताए। ‘बरू पार्टी एकपटक भत्किए भत्कियोस्, बड्याङबुडुङ गरी तलदेखि माथिसम्म हल्लाउनुपर्छ,’ उनले भने।
यो पनि: कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं, समाजवादी मोर्चालाई सरकार चलाउन दिऔं: गगन थापा