नेकपा (एमाले) को गण्डकी प्रदेश अधिवेशनअन्तर्गत मंगलबार बन्दसत्र जारी छ। बन्दसत्रमा निवर्तमान अध्यक्ष नवराज शर्माले राजनीतिक, सांगठनिक प्रतिवेदन पेश गर्दैछन्।
राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि ८ वटा समूह बनाएर छलफल गर्ने र पारित गरिएसँगै नेतृत्व चयनको प्रक्रिया आरम्भ हुने छ। नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएको छ।
एमालेका अधिवेशनमा राजनीतिक, सांगठनिक प्रतिवेदनले महत्त्व पाउन छाडिसकेका छन्। अधिवेशनमा नेतृत्व चयनले नै बढ्ता स्थान पाउँछ।
अधिवेशन आउन दुई साता बाँकी हुँदै भावी नेतृत्वबारे बहस सुरू हुन्छ। तदनुरूप प्रतिनिधि आफ्नो पक्षमा पार्न कसरत सुरू हुन्छ।
गण्डकीमा एमालेका ६३ हजार ५ सय ४७ जना पार्टी सदस्य छन्। त्यसमध्ये अधिवेशनका लागि ९ सय ७ जना प्रतिनिधि चुनिएर आएका छन्।
प्रदेशको नेतृत्व आफ्नो पक्षमा पार्न उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी लागि परेका छन्।
दुबै नेताले गण्डकी प्रदेशको जारी अधिवेशनलाई प्रतिष्ठाको विषय बनाएका छन्।
‘दुबै नेताले प्रदेश अधिवेशनलाई प्रतिष्ठा र शक्ति परीक्षणको विषय बनाएपछि चुनाव हुने पक्कापक्की देखिएको छ। यद्यपि सर्वसम्मतिको सम्भावना पनि टरिसकेको छैन,’ एक नेताले भने।
ओलीले नरुचाएका नवराज
एमालेका एक नेताले दिएको जानकारी अनुसार म्याग्दीको बेनी नगरपालिकाको मेयरमा अध्यक्ष केपी शर्मा ओलीले सन्तोष रावललाई उठाउन चाहन्थे। लमजुङको बेसीसहर नगरपालिकाको मेयरमा एमाले जिल्ला अध्यक्ष कृष्ण अधिकारीलाई टिकट दिन पृथ्वीसुब्बा गुरूङलाई भनेका थिए।
गुरूङले गुमानसिंह अर्याललाई टिकट दिए। बेनीको मेयरमा सुरज केसीले टिकट पाए।
‘बेनी नगरपालिकामा जित्ने उम्मेदवारको खोजी हुँदा प्रदेश अध्यक्ष नवराज शर्माले सुरज केसीलाई टिकट दिए। केसीले झन्डै १ हजार ४ सय मतले कांग्रेसका उम्मेदवारलाई पराजित गरे। नवराज शर्माको विश्लेषण सही सावित भयो। तर, ओली आफूले भनेको मानिसले टिकट पाएनन् भनेर रूष्ट भएका रहेछन्,’ एक नेताले भने।
प्रदेश अध्यक्षमा दोहोरिन चाहेपछि गत भदौ २ गते नवराज शर्माले अध्यक्ष ओलीलाई उनको निवास बालकोटमै गएर भेटेका थिए। भेटमा अध्यक्ष ओलीको हाउभाउ सकारात्मक थियो। ओलीको उक्त सकारात्मक हाउभाउ अधिवेशनसम्म आइपुग्दा फेरिएको छ। अहिले ओली खगराज समूहका मायानाथलाई अध्यक्ष बनाउन भित्रभित्र निर्देशन दिइरहेका छन्।
एमाले गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको फरक-फरक गुट छ। दुबैले ओलीलाई नै नेता मान्छन्।
गुरूङले ओलीलाई अप्ठ्यारोमा साथ दिँदै आएका छन्। गण्डकीको पार्टी राजनीतिमा ओली पक्षले सधैं फरक व्यवहार गर्ने र आफ्नो पक्षमा गुट खडा गर्न खोजेको दुखेसो पृथ्वीसुब्बाको छ।
‘त्यही भएर प्रदेश अधिवेशनको उद्घाटन सत्रमा पृथ्वीसुब्बाले अबको १० वर्ष एमालेको नेतृत्व ओलीले नै गर्ने बताउनुभएको हो,’ गुरूङ पक्षका एक नेताले भने, ‘कहिले खगराज, कहिले कुन नेता खडा गरेर सधैँ पिएसलाई कमजोर बनाउन खोजियो।’
लमजुङबाटै राजनीति गर्ने मायानाथ ओली पक्षका जति हुन्, त्योभन्दा बढी पृथ्वीसुब्बा गुरूङनिकट भनेर चिनिन्छन्। एमालेको नवौं र दसौं महाधिवेशनमा गुरूङकै दर्बिलो साथ पाएर केन्द्रीय सदस्य बनेका हुन्।
‘आठौं महाधिवेशनमा उहाँले झलनाथ खनाललाई भोट हाल्नुभएको हो। उहाँलाई अघि बढाउने सवालमा पृथ्वीसुब्बा कहिल्यै बाधक बन्नु भएन। अहिले पनि दुई पटक पोखरा, एक पटक काठमाडौंमा भेटेर मिलेर जाऔं भन्नुभएकै हो,’ गुरूङनिकट एक नेताले भने, ‘अहिले उहाँलाई पृथ्वीसुब्बा गुरूङविरूद्ध नै खडा गरिएको रूपमा प्रस्तुत गरिएको छ।’
गण्डकीमा अहिले सचिव पद्मा अर्याल पनि आफ्नो वर्चश्व बनाउन लागिपरेकी छन्। उनले आफूलाई भावी उपमहासचिव भन्दै संगठनमा प्रभाव जमाउन खोजिरहेकी छन्। लुम्बिनीकी ईञ्चार्ज उनी उक्त प्रदेशको अधिवेशन सकिएलगत्तै गण्डकीमा सक्रिय भएकी छिन्।
‘सुरूमा उहाँले पृथ्वीसुब्बाविरूद्ध मानिस खडा गर्न सकिन्छ कि भनेर प्रयत्न गर्नुभयो। मायानाथ अधिकारीलाई गुरूङबाट टाढा पुर्याएर उम्मेदवार बनाउने र अध्यक्ष र महासचिवको साथ खोज्ने उहाँको लक्ष्य देखिन्छ,’ ती नेताले भने, ‘यहाँसम्मकी उहाँले पूर्वमाले पृष्ठभूमिका नेताहरूसँग तारन्तार छलफल नै गर्नुभयो।’
किरण गुरूङलगायत नेताहरू नै खगराजको पक्षमा उभिन नमानेपछि पद्माको प्रयास असफल भएको पृथ्वीसुब्बा पक्षधर बताउँछन्। स्थायी कमिटीमा सिनियर भएकाले खगराजको कित्तामा उभिन किरणको मनले मान्दैन।
पद्मासँगै मायानाथको पक्षमा केन्द्रीय सदस्य राजीव पहारी, रामशरण बस्नेत, कृष्ण थापा उभिने सम्भावना रहेको ती नेताले बताए। पहारी, बस्नेत, थापा तीनै जना अध्यक्षका आकांक्षी हुन्। उनीहरू प्रतिनिधि पनि आएका छन्।
यी तीन जनाका अलावा पूर्वी नवलपरासीका तिलक महत र बागलुङका सूर्य पाठक पनि अध्यक्षको आकांक्षीका रूपमा थिए। दुबै जना प्रतिनिधि आएनन्।
यसरी बन्दै छ प्यानल
एमालेले अधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाए उम्मेदवारी खारेज गर्ने बताएका छन्।
उनको निर्देशनविपरीत बागमतीमा प्रदेश कार्यालयबाटै प्यानल बनाएर उम्मेदवारका हातहातमा चिट थमाइयो। कर्णालीमा गुलाबजंग शाह समूहले अधिवेशन सुरू हुन एक साता बाँकी रहँदै प्यानल बनाएर जिल्ला-जिल्लामा पठायो। गण्डकी प्रदेशमा पनि निवर्तमान अध्यक्ष नवराज शर्मा र मायानाथ अधिकारीको अलग-अलग प्यानल बन्ने देखिन्छ।
नवराज शर्मा समूहले उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरूङ र मोहन रेग्मीमध्ये एक जनालाई उठाउने तयारी गरेको छ। गुरूङ अहिलेको प्रदेश कमिटीमा सचिवालय सदस्य हुन्। रेग्मी स्याङ्जा जिल्ला कमिटीको उपाध्यक्ष छन्। सचिवमा धनञ्जय दवाडीलाई दोहोर्याउने तयारी गरेको पृथ्वीसुब्बा गुरूङनिकट एक नेताले बताए।
उपसचिवको उम्मेदवार टुंगो लाग्न बाँकी रहेको छ।
यस्तै मायानाथ अधिकारी समूहबाट सचिवमा कास्कीका रश्मी आचार्य निश्चित भएका छन्। उनी पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति र अनेरास्ववियुका उपाध्यक्ष थिए। उपाध्यक्ष र उपसचिवको उम्मेदवारहरू टुंगो लाग्न बाँकी रहेको अधिकारीनिकट नेताले बताए।