नेकपा (एमाले) का असन्तुष्ट नेता-कार्यकर्ताले पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन्।
मनोमानी रूपमा अधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै उनीहरूले धनगढीमा रहेका प्रदेश कार्यालय, कैलाली जिल्ला पार्टी कार्यालय र धनगढी नगर कमिटीको कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन्।
एमाले कैलाली जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर शाहले प्रदेश अधिवेशनका लागि विधानविपरीत प्रतिनिधि छनोट गरिएकाले तालाबन्दी गरिएको बताए।
पार्टीको विधि, विधान एवं मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकाले युवाहरूले तालाबन्दी गरेको उनको भनाइ छ।
युवा नेता-कार्यकर्तालाई अवसरबाट बञ्चित गरेर प्रतिनिधि छनोट गरिएको आरोप पार्टी नेतृत्वलाई लागेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले असोज २१ र २२ गते धनगढीमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयले धनगढी नगर कमिटी तथा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेश क र ख मा निर्विरोध प्रतिनिधि निर्वाचत भएको घोषणा गरेको थियो।
कार्यालयले सार्वजनिक गरेको सूचीमा महिलातर्फ रुक्मणाी देवकोटा, लोक्सरी कुँवर, वसन्ती चौधरी, कन्दकला राना, सानु सावद, अम्बिका विष्ट र चित्रा ओझाको नाम छ।
यस्तै युवातर्फ प्रशान्त थापा र तिर्थराज भट्टराई, खुलातर्फ धर्मराज पाठक, जीवनकुमार बम, राजेश खाती, यज्ञराज ढुंगाना, नेपालु चौधरी, दुर्गाप्रसाद जोशी, रणबहादुर चन्द, धिमलाल जोशी, रामचन्द्र जैसी, विष्णु चन्द, डिल्ली खड्का, कमलसिंह राना र चुडामणि भट्ट निर्विरोध प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।
यस्तै प्रदेश निर्वाचन क्षेत्र कमा दलितबाट सत्यराज स्नेही, प्रदेश सभा खबाट प्रेमकुमार विसी र सरिता सिजापति निर्वारोध निर्वाचित भएका थिए।