सत्तारूढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले देशको अर्थतन्त्र सङ्गिन मोडमा रहेको बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकार र अर्थमन्त्रीले यस कुरामा गम्भीर ध्यान पुर्याउन नसकेको बताए।
‘यसबारे सरकार र अर्थमन्त्रीलाई पनि कुरा राखियो तर उहाँहरू अलि मौन नै हुनुहुन्छ,’ उनले भने, ‘हाम्रै दलबाट अर्थमन्त्री हुनुहुन्छ।’
ट्राभल एजेन्सीहरूलाई भ्याटमा आकर्षित गर्न माग गरिए पनि सरकारले नसुनेको उनले बताए।
उनले गोरखाको मनास्लु क्षेत्रका बिरामीलाई हेलिकप्टरमा उद्धार गर्न समस्या भइरहेको बताए।
‘सरकारले उद्धारमा उदासिनता देखायो। वृद्धभत्ता लिन जाँदा लडेका वृद्धको झण्डै २२ घन्टामा उद्धार गरियो,’ उनले भने, ‘निषेधित क्षेत्रको औचित्य केका लागि? चीनका लागि कि हाम्रा लागि?’
निषेधित क्षेत्रमा आफ्नै नागरिकले उद्धार नपाएको उनले बताए।