सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकार जति दिन राख्यो उति नै मुलुक कमजोर हुँदै जाने टिप्पणी गरेका छन्।
कांग्रेस कपिलबस्तु जिल्ला सम्मेलनको बुधबार उद्घाटन गर्दै कोइरालाले सरकार नसच्चिने हो भने छाड्नुपर्ने बताए।
‘यो सरकार जति दिन रह्यो, त्यति नै मुलुक बरबादीतर्फ जाने देखिन्छ,’ उनले भने, ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति दिन देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक अवस्था कमजोर हुँदै जान्छ।’
उनले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए। ‘मुलुकमा कांग्रेस नेतृत्वकै सरकार अपरिहार्य भइसक्यो,’ कोइरालाले भने।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसबाट ९ जना मन्त्री छन्।
महँगी बढे पनि सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए।
जनतालाई सहुलियत दिनुपर्नेमा दैनिक उपभोग्य बस्तुहरूको भाउ बढ्दै गइरहेको उनको भनाइ छ।