नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले विधानविपरीत केन्द्रीय सदस्यहरू मनोनीत गरेको बताएका छन्।
कांग्रेस कपिलबस्तु जिल्ला सम्मेलनको बुधबार उद्घाटन गर्दै कोइरालाले सभापति देउवा पार्टीको विधि र विधानअनुसार नहिँडेको बताए।
‘तपाईंहरूलाई लागेको होला, किन शेखर कोइरालाले शेरबहादुर देउवासँग झगडा गरिराखेको छ? भागबन्डामा विवाद भन्ने लागेको होला, होइन,’ उनले भने, ‘सभापति विधि र विधानअनुसार हिँड्नुभएन।’
केन्द्रीय सदस्य मनोनीत गर्दा विधान मिचिएको उनको भनाइ छ। ‘दु:ख पाएका, पुराना र खटेका व्यक्तिलाई केन्द्रीय सदस्य बनाउनुपर्ने हो, अनि पो कसैले विरोध गर्दैन,’ कोइरालाले भने।
गत असोज ४ गते सभापति देउवाले ८ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। तीमध्ये केहीलाई विधानविपरीत केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै कोइरालाले असन्तुष्टि जनाएका छन्।
‘सभापतिले पछिल्लो सयम ८ जना केन्द्रीय सदस्य मनोनीत गर्नुभयो। सबै साथीहरू ठिकै हुनुहुन्छ, खराब भन्दिनँ। कांग्रेसमै दु:ख गरिरहनुभएको छ,’ उनले भने, ‘तर सभापतिले विधानलाई टेकेर मनोनीत गर्नुपर्छ, विधानअनुसार मनोनीत गर्नुभएन भनेर भन्दा किन विरोध गरेको भन्न पाइन्न।’
सभापति देउवाले असोज ४ मा गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
यस्तै ०७९ साउन ३१ मा सुनसरीकी लक्ष्मी खतिवडा र लुम्बिनीकी गंगा शाहीलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
अर्जुनप्रसाद जोशी, किरणराज शर्मा पौडेल, भरत शाह, लक्ष्मी खतिवडा र गंगा शाहीलाई केन्द्रीय सदस्य मनोनीत गर्दा विधान मिचिएको भन्दै कोइरालाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्।
अर्जुनप्रसाद जोशी गण्डकी प्रदेश सभापति र भरत शाह लुम्बिनी प्रदेश सभापति पदमा पराजित भएका थिए। किरणराज भने बागलुङमा महाधिवेशन प्रतिनिधिमै पराजित भएका थिए। खतिवडा सुनसरी क्षेत्र नम्बर १ क्षेत्रीय सभापति पराजित भएकी थिइन् भने शाही लुम्बिनी सदस्यमा पराजित भएकी थिइन्।
कांग्रेस विधानको धारा ५९ मा भनिएको छ, ‘पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन’ भन्ने उल्लेख छ।
कांग्रेसको विधानमा कुनै तहमा पराजित व्यक्ति सोही तहमा स्वत: सदस्य हुने व्यवस्था गरेको छ।
विधानको धारा ६५ मा ‘पार्टीको सबै तहको कार्यसमिति सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत ल्याउने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ’ भन्ने व्यवस्था छ।
सभापति देउवाले विधानअनुसार मनोनीत गर्न पाउने ३३ केन्द्रीय सदस्यमध्ये अहिलेसम्म ३१ जनालाई मनोनीत गरिसकेका छन्।