प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आकस्मिक बैठक आह्वान गरेका छन्।
मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका हुन्।
बिहीबार बिहान प्रधानमन्त्रीले बोलाएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।
बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए।