नेकपा (एमाले ) गण्डकीमा नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुँदै छ। अहिले बिहान ९ बजेबाट मतदान प्रक्रिया आरम्भ हुने र अहिले अध्यक्ष मण्डलको बैठक बसिरहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
एमाले गण्डकी प्रदेश अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेको निर्वाचन समितिले बताएको छ।
बुधबार बिहान उम्मेदवारी दर्ताको समय तोकिएको थियो। दिनभरिको सर्वसम्मतिको प्रयास विफल भएपछि बिहीबार बिहान मतदान हुन लागेको हो। भोटिङ मेसिन प्रयोग गरेर चुनाव हुन लागेको निर्वाचन समितिले बताएको छ।
गण्डकी प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।
५ पदाधिकारीमा ११ जनाको उम्मेदवारी परेको निर्वाचत समितिले जानकारी दिएको छ। कुल ३ सय ८२ जनाको उम्मेदवारी परेको बताइएको छ।
एमाले गण्डकी प्रदेशको आगामी नेतृत्वका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टछुट्टै प्यानल खडा भएको छ।
उपमहासचिव गुरूङले बनाएको प्यानलबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मालाई अघि सारिएको छ। उनी निवर्तमान अध्यक्ष पनि हुन्।
उपाध्यक्षमा स्याङ्जाका मीनबहादुर गुरूङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिक उम्मेदवार छन्।
लेखा आयोग प्रमुखमा नवलपुरका अमृत ज्ञवाली र उपाध्यक्षमा गोरखाका गिरिधारी बास्कोटा र सचिवमा बाग्लुङका वीरबहादुर बिकलाई अघि सारेका छन्।
अधिकारी समूहले अध्यक्षमा लमजुङका मायानाथ अधिकारी, उपाध्यक्षमा नवलपुरका बाबुराम बिक, सचिवमा कास्कीका रश्मी आचार्यलाई अघि सारेको छ। उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरूङलाई उम्मेदवार बनाएको छ। रावलले युवा संघको अध्यक्षमा क्षितिज थेवेसँग प्रतिस्पर्धा गर्न खोजेका थिए। तर नेतृत्वले थेवेलाई सर्वसम्मत गरेपछि युवा संघमा चुनाव नै भएन। गुरूङलाई उपमहासचिव रिमालले अघि सारेका हुन्।
उपमहासचिवमा अर्जुनकुमार सुनामले पनि उम्मेदवारी दर्ता गराएका छन्।
यसअघि लुम्बिनी, बागमती र कर्णाली प्रदेशमा अधिवेशन सकिइसकेको छ। लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल र कर्णालीमा गुलाबजंग शाह र कोशीमा घनश्याम खतिवडा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन्। यसपछि उपत्यका विशेष, सुदूरपश्चिम र मधेस प्रदेशमा अधिवेशन हुने छन्।
नेकपा (एमाले)ले संगठन सुदृढीकरण अभियानअन्तर्गत तहगत कमिटीहरूका अधिवेशन गरिरहेको हो। एमालेले २०८० लाई अधिवेशनको वर्ष मानेको छ। र, यही वर्षभित्र पालिका र जिल्ला अधिवेशनहरू गरिसक्ने बताएको छ।
प्रदेश कमिटीका अधिवेशनहरूले एमालेभित्र नयाँ खालको सत्ता–संघर्षको संकेत गरेको छ।