प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचाररत माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्था बुझेका छन्।
प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान आचार्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
पार्टीको तीन महिने रूपान्तरण अभियानका क्रममा समीक्षा बैठकमा सहभागी हुन सचिव आचार्य अछामको साँफेबगर पुगेका थिए।
त्यहीँको एउटा होटलमा बसिरहेका बेला अचार्यको एक्कासि बोली बन्द भएर शरीरको दायाँ भाग चल्न छाडेको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए। लगत्तै उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्याएको थियो। त्यहाँ उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् नेपालगञ्ज मेडिकल कलेज ल्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि जहाजमार्फत् उनलाई काठमाडौं ल्याइएको हो।
सचिव आचार्य प्युठानका हुन्।