राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धुलिखेलमा प्रशिक्षण सुरू गरेको छ।
बिहीबारदेखि केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरू गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले प्रशिक्षक बनाउन प्रशिक्षण दिएको हो।
नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआई) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको प्रवक्ता श्रेष्ठले बताए।
राप्रपाले देशव्यापी रूपमा कार्यकर्तालाई प्रशिक्षण दिने तयारी गरिरहेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशाबारे प्रशिक्षण दिनेछन्।
वरिष्ठ उपाध्यक्ष ध्रुबबहदुर प्रधानले प्रशिक्षणको महत्व र विभागको आगामी कार्यक्रमबारे र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्तबारे प्रशिक्षण दिने कार्यक्रम छ।
महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्त र राप्रपाको पृथक सिद्धान्तबारेमा प्रशिक्षण दिनेछन्। साथै विभागकी सहसंयोजक खुस्बु ओलीले युवा महिला केन्द्रित नवीन राप्रपा र नेतृत्वबारे प्रशिक्षण दिने कार्यक्रम छ।
प्रशिक्षणको दौरानमा अधिवक्ता भीमार्जुन आचार्यसँग संविधानका बारेमा छलफलसमेत हुनेछ।