नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीका प्रदेश अधिवेशनमा नयाँ नेतृत्व छनौट सर्वसम्मत गर्न चाहन्थे। सर्वसम्मत नभए पनि पार्टी नेतृत्व छनौटमा गुटबन्दी देखिने गरी प्यानल बनाउन निषेध गरेका थिए। प्यानल बनाएर प्रतिस्पर्धा नगर्न निर्देशन दिएका थिए।
एमाले गण्डकीका इन्चार्ज गोकर्ण विष्टले पनि प्यानल बनाएर चुनाव लड्न नदिने बताएका थिए। अधिवेशनको अघिल्लो दिन असोज १४ गते पत्रकार सम्मेलन गर्दै उनले स्वच्छ प्रतिस्पर्धा स्वीकार्न सकिने भए पनि प्यालन बनाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका थिए।
अध्यक्ष ओली र इन्चार्ज विष्टको निर्देशनविपरीत अहिले भइरहेका प्रदेश अधिवेशनहरूमा प्रष्ट देखिने गरी प्यानल बनेका छन्। प्रदेश अध्यक्षदेखि सदस्यसम्मै प्यानल बनाएर अधिवेशन प्रतिनिधिलाई भित्रभित्रै लिस्ट वितरण भइरहेको छ।
गण्डकी प्रदेश अधिवेशनमा प्यानलको लिस्ट वितरण गर्दा विहिबार दिउँसो केहीबेर कार्यकर्ताहरूमा तनाव देखियो। उपमहासचिव पृथ्वीसुब्बा गुरूङ समूहबाट आदिवासी जनजाति प्रदेश सदस्यका उम्मेदवार बनेका हुमबहादुर गुरूङले केही युवाले लिस्ट वितरण गरिरहको देखे।
गुरूङले के हो यो भन्दै ती युवाहरूलाई समाते। उनीहरूले स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहको प्यानल लिस्ट मतदातालाई वितरण गरिरहेका थिए। पृथ्वीसुब्बा समूहबाट खगराज समूहमा प्रवेश गरेका केन्द्रीय सदस्य राजीव पहारीको नेतृत्वमा उक्त प्यालन लिस्ट वितरण गरेको पृथ्वीसुब्बा समूहले बताएको छ।
खगराज समूहले प्यानल लिस्ट वितरण गरिरहँदा विरोध जनाएको पृथ्वीसुब्बा समूहले पनि उसै गरी प्यानल लिस्ट बनाएर भित्रभित्रै मतदातालाई बाँडेको छ। दुबै पक्षले लिस्ट बनाएर बाँडेपछि अहिले मतदान शान्त छ। दिउँसो १२ बजेदेखि सुरू भएको मतदान हालसम्म ३ सय ५० जनाले मत दिएका छन्।
इलेक्ट्रोनिक भोटिङबाट मतदान भइरहेको निर्वाचन समितिका संयोजक सुरेन्द्र थापाले बताए। एमाले गडकीमा ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि मतदानमा भाग लिएका छन्। मतदान सकिएपछि आजै चुनावी परिणाम घोषणा गर्ने तयारी भइरहेको निर्वाचन संयोजक थापाले जानकारी दिए।