गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धर्मका नाममा सामाजिक सद्भाव खलबल्याउने प्रयत्न भइरहेको बताएका छन्।
नेपालले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धि उल्ट्याउन यस्ता प्रयत्न भएको उनले बताए।
‘हाम्रो सामाजिक सद्भाव खलबल्याएर नेपालले प्राप्त गरेको राजनीतिक र आर्थिक उपलब्धि खलबल्याउन खोजिएको छ,’ उनले भने, ‘यसैका कडीका रूपमा धरान, वीरगञ्ज र अहिले नेपालगञ्जमा कर्फ्यू लगाउनुपरेको छ।’
नेपाल सांस्कृतिक, भौगोलिक र जातीय विविधता भएको मुलुक भएको भन्दै उनले सद्भाव खलबल्याएर उपलब्धि उल्टाउन खोज्ने तत्व सलबलाएको बताए। नेपालीका रूपमा सबै एकजुट रहेको भन्दै उनले सद्भाव खलबल्याएर उपलब्धि उल्ट्याउन खोज्ने तत्वलाई बेलैमा चिन्न जरुरी रहेको उनले बताए।
‘यहाँ धर्म, जातजाती, संस्कृति र भुगोलका नाममा विभाजन गर्न खोजिएको छ,’ उनले भने, ‘यस्ता तत्वहरूको उद्देश्य पुरा हुँदैनन्, हामी बेलैमा सचेत हुन जरूरी छ।’
संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्ष राज्यमा विश्वास गर्ने सबैले सद्भाव खलबल्याउन चाहने तत्वलाई चिन्नुपर्ने उनले बताए।
मुस्ताङको जोमसोममा बिहीबार सुरू कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। सबै धर्म, संस्कृति र भुगोलमा बसोबास गर्ने नागरिक आपसी एकता र सद्भावका साथ बसोबास गर्दै आएको उनले बताए।
मुस्ताङ पर्यटकीय जिल्ला भएकाले स्थानीय उत्पादनमा पनि जोड दिन आग्रह गरे। स्थानीय उत्पादन पर्यटकलाई खुवाउन सके मात्र आर्थिक उपलब्धि हासिल हुने भन्दै उनले पर्यटनबाट लाभ लिन उत्पादनमा जोड दिनुपर्ने बताए।
‘यहाँ आउने पर्यटकले यहींको उत्पादन खान पाउनुपर्छ, उनीहरूले लैजान पनि चाहन्छन्,’ उनले भने, ‘तपाईंहरू उत्पादनमा लाग्नुस्, हामी प्रदेश सरकारका तर्फबाट सहयोग गर्न तयार छौं।’
अर्को प्रसंगमा मुस्ताङसहित हिमाली क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको भन्दै विश्वको ध्यानाकर्षण गराउन जरूरी भएको बताए।
‘जलवायु परिवर्तनको प्रभाव हामीले प्रत्यक्ष महशुस गरेका छौं, कागबेनीमा आएको बाढी त्यसैको कडी हो,’ उनले भने, ‘हामीले यस्ता घटना विश्वकै ध्यानाकर्षण हुने गरी उठाउन जरुरी छ।’
बेनीदेखि जोमसोमसम्मको सडक निर्माण छिटो गर्न र कोरोला नाका खोल्न प्रधानमन्त्री प्रचण्डसँग बारम्बार माग गरेको उनले बताए।
‘कालीगण्डकी करिडोर सडक निर्माणमा ढिलासुस्ती हुँदा मुस्ताङबासी र पर्यटकले धेरै सास्ती खेप्नुपरेको छ,’ उनले भने, ‘हामीले समन्वय गरिरहेकै छौं, छिटो बाटो बनाउन संघीय सरकार अग्रसर हुनुपर्छ।