नेकपा (एमाले) गण्डकी अध्यक्षमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका नवराज शर्मा विजयी भएका छन्।
उनले ५ सय ३१ मत प्राप्त गरे भने प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ ल्याएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए। अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन्।
उपाध्यक्षमा मीनबहादुर गुरूङले ५ सय ३४ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी बाबुराम बिश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे। सचिवमा धनञ्जय दवाडी ५ सय २० मत ल्याएर दोहोरिँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले ३ सय ७६ मत ल्याए।
उपसचिवमा दामबहादुर बिश्वकर्माले ४९९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे। महिला उपसचिवमा मञ्जु अधिकारीले ५ सय ३१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मीना गुरूङले ३ सय ६५ मत प्राप्त गरिन्।
कुल ९ सय ७ मतदातामध्ये ८ सय ९६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत थापा मगरले सेतोपाटीलाई बताए। ३३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भएको थियो।
१ सय ६५ पदका लागि भएको निर्वाचनमा २ सय ७७ जनाको उम्मेदवारी कायम भएको थियो। ३१ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
एमाले गण्डकीमा उपमहाचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टाछुट्टै प्यानल थियो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाए उम्मेदवारी रद्द गर्नेसम्मको चेतावनी दिएका थिए। त्यसका बाबजुद उनी पक्षीय नेताहरूले नै प्यानल नै बनाएर उम्मेदवार मैदानमा उतारेका थिए।
एमाले गण्डकीमा एमालेका पदाधिकारी तहका नेता नै विभाजित देखिएका थिए। महासचिव शंकर पोखरेलको साथ स्थायी कमिटी सदस्य खगराज अधिकारीले बनाएको केन्द्रीय सदस्य मायानाथ अधिकारीको समूहलाई थियो।
उपमहासचिव गुरूङको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू थिए।
महासचिव पोखरेल खगराजको पक्षमा उभिँदा प्रदेश अध्यक्षलगायत पदाधिकारीमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि शर्माले अधिकारीलाई १ सय ६६ मतले पाखा लगाए। पदाधिकारीमा उपमहाचिव गुरूङको सेट नै निर्वाचित भयो।