मधेस प्रदेश सरकारले सातौंपटक मन्त्रिपरिषद विस्तार गरेको छ।
अघिल्लो मन्त्रिपरिषद विस्तार क्रममा जिम्मेवारी खोसेर बिनाविभागीय मन्त्री बनाइएकी जनता समाजवादी पार्टी (जसपा) प्रदेश सभा सदस्य सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रीमा नियुक्त गरिएको हो।
जनमत पार्टीको भागमा रहेको शिक्षा तथा सामाजिक कल्याण मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाइएको हो।
शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको छ। जनमत पार्टीका महेश यादव उक्त मन्त्रालयका मन्त्री छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार विज्ञप्ति प्रकाशित गरी कार्यविभाजन सार्वजनिक गरेका हुन्।
मुख्यमन्त्री सरोज कुमार यादवले लगातार दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दा जनमत पार्टीको भागमा परेकै मन्त्रालय टुक्र्याएपछि जनमत पार्टी असन्तुष्ट बनेको छ।
मन्त्रिपरिषदमा छलफलै नगरी मुख्यमन्त्रीले मन्त्रालय टुक्र्याएको जनमतका मन्त्री यादवको भनाइ छ।
