मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिए लगत्तै नयाँ सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले दाबी गर्ने बताएका छन्।
प्रदेशसभा गठन भएको दश महिनाभित्रै सरकार बनाउने सबै संवैधानिक उपाय प्रयोगको अवस्थामा आइपुगेको कोशी प्रदेशमा नयाँ बन्ने सरकारमा दलहरूले दाबी प्रस्तुत गर्न थालेका हुन्।
शनिबार मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेशमा अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन हुनेछ। प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्ने यो प्रावधानमा गठबन्धनबाटै सरकार बनाउने विपक्षी मोर्चाको तयारी छ।
तर, अहिलेसम्म सरकारको नेतृत्व कसले गर्ने टुंगो छैन। यही मेसोमा गठबन्धनका दुई दलका नेताहरूले आ–आफ्नो दाबी अघि सारेका हुन्।
‘मैले यसअघि दुईपटक मुख्यमन्त्री बन्ने मौका त पाएँ तर काम गर्ने अवसर पाइनँ’, पूर्व मुख्यमन्त्री एवम् कांग्रेस नेता उद्धव थापाले शनिबार प्रदेशसभा परिसरमा पत्रकारहरूसँग भने, ‘त्यसैले मेरो दाबी रहन्छ। तर, गठबन्धनका शीर्ष नेताहरूले यसबारे टुंगो गर्नुहुन्छ।’
गठबन्धनकै अर्को दल माओवादीका नेता इन्द्र आङ्बोले पनि अबको नेतृत्वमा माओवादी दाबी रहने बताएका छन्।
‘नेपाली कांग्रेसले यसअघि दुईपटक अवसर पायो, बहुमत सिद्ध गर्न सकेन’, उनले भने, ‘माओवादी नेतृत्वमा सरकार बन्दा बहुमत जुटाउन सजिलो हुने विश्वासमा हामी छौं।’