नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गैरआवासीय नेपालीका छोराछोरी र नातिनातिनासम्मले नेपाली नागरिककै हैसियत पाउने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) द्वारा शनिबार आयोजित भर्चुअल अन्तरक्रियामा पुनले गैरआवासीय नेपालीका शाखा सन्तानहरूको हैसियत पनि नेपालीकै हुने बताएका हुन्।
एनआरएनए र उनीहरूका सन्तानले राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग पाउने व्यवस्था संविधान र नागरिकता ऐनले स्पष्ट गरेकाले उनीहरू विदेशी हुन नसक्ने पुनको भनाइ थियो।
‘अध्ययनको सिलसिला अवसरको खोजी वा अन्य बाध्यताले नेपालीहरू विभिन्न देशमा पुग्नुभएको छ। एकपटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको भावनात्मक नाराले हामी नेपालमा भएकाहरूको मन छुन्छ’, पुनले भने, ‘तपाईंहरूको नारामा पूर्ण सहमत हुँदै म भन्न चाहन्छु, एकपटकका नेपालीका छोराछोरी र नातिनातिनासम्म पनि नेपाली नै हुन्।’
त्यही कारण धेरै लामो बहस र छलफलपछि संविधानमा गैरआवासीय नागरिकताको प्रावधान राखिएको स्मरण पुनले बताए।
‘संविधान लेखनका क्रममा हाम्रो बीचमा धेरै छलफल र बहसहरू भए’, उनले भने, ‘अन्तिममा हामी विदेशमा रहेका नेपालीलाई गैरआवासीय नागरिकता दिनुपर्छ। राजनीतिक बाहेक वंशज वा अंगीकृत नागरिकले पाउने सबै अधिकार एनआरएनएहरूले पाउनुपर्ने भन्ने व्यवस्था हामीले गरेका छौं।’
नेपाली नागरिकताको निरन्तरताबारे एनआरएनएले उठाउँदै आएको मागबारे राजनीतिक तहमा र संसदमा छलफल हुन सक्ने उनको भनाइ थियो।
एनआरएनएले पाउने भनिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे ऐन, नियमावली र कार्यविधिमा कुनै अस्पष्ट व्यवस्था भए परिमार्जनमार्फत व्यवहारिक बनाइनुपर्ने धारणा उनले राखे।
एनआरएनएहरूले आफू रहँदै आएको मुलुकस्थित नेपाली दूतावास, वाणिज्य दूतावास वा अनलाइन प्रणालीमार्फत पनि एनआरएनए नागरिकताको आवेदन दिन सकिने लचिलो व्यवस्था राखिएकाले कार्यान्वयनमा जटिलता नआउने विश्वास पुनले व्यक्त गरे। अन्तरक्रियाका सहभागीको चिन्ता सम्बोधनका क्रममा पुनले यसअघि लिएको नेपाली नागरिकता वा नागरिकता नलिएको व्यक्तिका हकमा बाबुआमा, बाजेबज्यैसमेत खुल्ने गरी एनआरएनए नागरिकता वितरण हुने स्पष्ट गरे।