नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवा निवास धुम्बाराही र नेता शेखर कोइरालाको सचिवालय बालुवाटारमा धर्ना दिएका छन्।
नेविसंघमा देखिएको विवाद समाधान गर्न गत भदौ ३ गते चार बुँदे सहमति भएको थियो। उक्त सहमति कार्यान्वयन नभएको भन्दै देउवा निवास र कोइराला सचिवालयमा आइतबार नेविसंघ असन्तुष्ट पक्षले धर्ना दिएका हुन्।
सभापति देउवाले गत साउन २२ गते नेविसंघ केन्द्रीय समितिमा ७१० जना मनोनीत गरेपछि विवाद सुरू भएको थियो। असन्तुष्ट पक्षले समानान्तर समिति घोषणा गर्न सानेपामा भेला राखे पनि नेविसंघका दुई पक्षबीच तनाव उत्पन्न हुँदा स्थगित भएको थियो। कांग्रेस कार्यालयमा त्यस दिन असन्तुष्ट नेविसंघलाई भेला गर्न दिइएको थिएन।
असन्तुष्ट पक्षले कांग्रेस कार्यालयमा अनशन गरेपछि सहमति गरिएको थियो।
केन्द्रीय तदर्थ समिति एक साताभित्र थप विस्तार गर्ने, तदर्थ समितिको पहिलो बैठकबाट १२ औं महाधिवेशनको यथोचित कार्यतालिकासहित मिति घोषणा गर्ने, संगठभित्र समावेशी हिसाबले नेता कार्यकर्ताको व्यवस्थापन गर्ने र असन्तुष्ट पक्षले गरेको रिले अनसन तोड्ने सहमति भएको थियो।
तर सहमतिअनुसार नेविसंघ र पार्टी अघि नबढेको भन्दै असन्तुष्ट पक्षले आज धुम्बाराहीमा धर्ना र कोणसभा पनि गरेका थिए।
नेता नेता विनोद शाही ठकुरीले सहमति कार्यान्वयनका लागि भाग गर्दै धर्ना दिइएको सेतोपाटीलाई बताए। ‘हाम्रा माग पूरा गर्न सभापतिको निवासमा धर्ना दियौं, नेता कोइरालाको सचिवालयमा पनि धर्ना दिइयो,’ उनले भने, ‘हाम्रो ध्येय नेविसंघ सुध्रियोस् भन्ने हो।’
नेता कोइरालाले नेविसंघ ७१० सदस्यीय कसले बनायो उसैले समस्याको समाधान गर्नुपर्ने बताएका थिए। ‘हामीसँग ५०० सदस्यीय नेविसंघ बनाउने सहमति भएको थियो तर ७१० सदस्यीय कसले बनायो, उसैलाई गएर सोध्नुहोस्,’ कोइरालाको जवाफ थियो।