इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको संयन्त्रले समन्वय गर्ने भएको छ।
परराष्ट्र मन्त्रालयमा आज बसेको बैठकले नेपालीहरूको शव यथाशिघ्र ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको हो।
इजरायल-हमास युद्धमा नेपाली नागरिकहरू पनि मारिएपछि परराष्ट्र मन्त्रालयले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरिएको थियो।
परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’को आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा हाल चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी छन्।
विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए। यो गाजा क्षेत्रनजिकै पर्दछ।
बैठकले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।