प्रतिनिधि सभाको सोमबारको बैठकमा बोलेका अधिकांश सांसदहरूले इजरायल घटनाप्रति दु:ख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरूलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
हमासको आक्रमणबाट इजरायलमा अहिलेसम्म एक हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
सांसदहरूले इजरायलको बंकरमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि माग गरेका छन्।
नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इजरायलमा रहेका नेपालीहरूको उद्धार गरिनुपर्ने बताए।
‘प्रधानमन्त्रीले त्यहाँ रहेका विद्यार्थीहरूसँग कुराकानी गरेको भिडिओ आएको छ। कुराकानी गरेर मात्र पुग्दैन, उद्धार गर्नुपर्यो,’ उनले भने, ‘परराष्ट्र मन्त्री एनपी साउदलाई नै इजरायल पठाएर भए पनि नेपालीको छिटो उद्धार गर्नुपर्छ।’
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले इजरायलमा बेपत्ता भएकाहरूको खोजी र घाइतेको उपचार व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले स्वदेश आउन चाहने नेपालीलाई सरकारले छिटो ल्याउनुपर्ने बताए। ‘त्यहाँ रहेका नेपालीलाई छिटो उद्धार गर्न थप र विशेष पहल सरकारले गर्नुपर्छ,’ उनले भने, ‘१० जनाको मृत्यु भएको छ, शव पनि छिटो ल्याइयोस्।’
उनले इजरायलमा शान्ति स्थापना गर्न सरकारले भूमिका खेल्नुपर्ने पनि बताए।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन माग गरेका छन्।
‘आज म डेराबाट निस्कँदै गर्दा एक जनाले इजरायलमा मृत्यु हुनेलाई श्रद्धाञ्जली दिन जान त लाग्नुभएको होला नि! भनेर भने,’ उनले भने, ‘अरू के पो गर्न सक्छु र! सरकारले नेपालीहरूलाई छिटो स्वदेश ल्याउनुपर्छ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारको कूटनीतिक कमजोरी देखिएको बताए।
‘परराष्ट्रमन्त्रीले घटना भएको दिन हाल सुनाउनुभयो आफैँ बेहाल भएर,’ उनले भने, ‘इजरायलसँग नेपालको दक्षिण एशियामै सबैभन्दा पुरानो सम्बन्ध हो। अहिले सरकारको कूटनीतिक कमजोरी देखिएको छ।’
प्रधानमन्त्री दाहालले विद्यार्थीसँग भिडिओ कल गरेर लोकप्रियता कमाउन खोजेको पनि उनको भनाइ थियो। ‘इजरायलले युद्ध घोषणा गरेको छ। दक्षिणीमात्र होइन उत्तरी क्षेत्रमा पनि लडाइँ सुरू भएको छ, नेपालीलाई छिटो स्वदेश ल्याउनुपर्छ,’ उनले भने।
सांसद गीता बस्नेतले इजरायलमा नेपालीहरू कुन अवस्थामा छन् भन्ने सरकारले स्थिति सार्वजनिक गर्नुपर्ने बताइन्। ‘बंकरमा छन्, पानी पनि नपाएको अवस्था छ,’ उनले भनिन्, ‘छिमेकी देशले आफ्ना नागरिक ल्याइसके, नेपालीहरू धुँरूधुँरू रोइरहेका छन्, छिटो उद्धार गर्नुपर्यो।’
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउनु पर्ने बताए। ‘स्वदेश आउन चाहनेलाई छिटो ल्याउनुपर्यो,’ उनले भने, ‘शव पनि तुरून्त ल्याउनु पर्छ।’ एक लाख २३ हजार जना इजरायलमा विस्थापित भएकोमा नेपालीका अवस्था जानकारी गराउन पनि उनले सरकारलाई आग्रह गरेका छन्।
जनमत पार्टीका सांसद अब्दुल खानले इजरायलमा अलपत्र परेका नेपालीहरूलाई सरकारले छिटो उद्धार गर्नुपर्ने बताए।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारी खर्चमा इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न माग गरेका छन्।
इजरायलमा चार हजार पाँच सय केयरगिभर र २६५ जना विद्यार्थी रहेकोमा १० विद्यार्थीको मृत्यु भएको थियो।