नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रथम अधिवेशनको मतदानको समय मंगलबार साँझको लागि तोकेको छ।
सोमबार साँझ निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार मंगलबार दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।
अहिले सोमबार साँझसम्म मतदाता नामावली प्रकाशन भइसकेको छ। मतदाता नामावली प्रकाशन भएसँगै उम्मेदवारी फारम वितरणको काम समेत सुरू भइसकेको छ।
सोमबार राति ९ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण गर्ने तालिका छन्।
मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। सुदूरपश्चिमको अधिवेशनबाट प्रदेश अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन्।
निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी अध्यक्ष बन्ने दौडमा छन्। त्यस्तै नेकपा विभाजनका बेला एमालेबाट युवा संघका अध्यक्ष बनेका बचन सिंह पनि अध्यक्षको आकांक्षी छन्।
मुख्य रूपमा जैसी र तिमिल्सिनाका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ।
उम्मेदवारी दर्ता भएपछि उम्मेदवारको प्रारम्भिक नामावली बिहान साढे ११ बजे प्रकाशन गर्ने तयारी छ। त्यही समयभित्र उम्मेदवारको विरोधमा उजुरी दिन निर्वाचन कमिटीले समय तोकेको छ।
उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।
एमालेले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने तालिका घोषणा गरेको छ।
यद्यपि नेतृत्वले उम्मेदवारलाई सर्वसम्मत बनाउनमा जोड दिएसँगै मतदान समयमै हुन्छ भन्नेमा शंका छ।
एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी, उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन गरिसकेको छ।
यो पनि: एमाले सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयन आजबाट, को-को छन् आकांक्षी?

