सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।
कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतंकवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नुपरेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए।
कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन सरकारलाई आग्रह पनि गरेको छ।
सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका हुन्।
इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फर्किने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि कांग्रेसले आग्रह गरेको छ।