परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराएका छन्।
इजरायलमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विश्वविद्यालयका २३ जना गरी कूल ५५ जना नेपालीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको उनले बताए।
हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। मृतकका शव नेपाल ल्याउन पहल भइरहेको उनको भनाइ थियो।
इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन् भने २६५ जना विद्यार्थी रहेकोमा १० विद्यार्थीको मृत्यु भएको थियो।
सरकारले इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ।
मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको थियो। साथै मृतकको सम्मानमा सरकारले आज स्वदेश र विदेशस्थित कूटनीतिक नियोगहरूमा झण्डा आधा झुकाएको छ।