परराष्ट्र मन्त्री एनपी साउदले इजरायलका विदेश मन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन्।
मंगलबार दिउँसो परराष्ट्र मन्त्री साउदले समकक्षी कोहेनसँग कुराकानी गरेका हुन्।
परराष्ट्र मन्त्री साउदले इजरायली विदेश मन्त्री कोहेनसँग हमास समूहको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताए।
‘महामहिमज्यू १० जना नेपालीको मृत्युको खबरले हामीहरूलाई स्तब्ध बनाएको छ। उहाँहरु विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो,’ साउदले भने, ‘अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरू इजरायल जानुभएको थियो। यो घटनाले उहाँहरुका घरपरिवारका सदस्यहरू दुःखी र चिन्तित हुनुहुन्छ।’
परराष्ट्र मन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेश मन्त्री कोहेनसँग आग्रह गरेका थिए।
‘मृतकहरुको पार्थिव शरीरलाई जति सक्दो छिटो स्वदेश ल्याउन जरूरी छ। थोरै ढिलाइले पनि घरपरिवारका सदस्यहरुमा झन पीडा थप्ने छ,’ उनले भने, ‘तसर्थ शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ।’
मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपालीको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरेका छन्।
सम्पर्कबिहिन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि उनले आग्रह गरेका छन्।
‘इजरायलका अस्पतालमा ४ जना नेपालीको उपचार भइरहेको छ। उहाँहरुको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गर्दछु,’ साउदले भने, ‘एक जना नेपाली अझै सम्पर्कविहीन छन्। उहाँको अवस्था पत्ता लगाउन इजरायल सरकारसँग सम्पूर्ण सहयोग गरिदिन पनि नेपाल सरकार अनुरोध गर्दछ।’
मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिन लगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरेका छन्।
‘अहिलेसम्म अन्य नेपाली सुरक्षित अवस्थामा रहेका जानकारी पाएका छौँ। यद्यपि, उहाँहरुमध्ये धेरै जना बंकरमा बसिरहनु भएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘उहाँहरु खाना र पानीजस्ता आधारभूत आवश्यकताका लागि निरन्तर साथीभाइ र परिवारलाई फोन गरिरहनुभएको छ। यस विषयमा पनि उचित सहयोगका लागि हामीले इजरायल सरकारसँग आशा गरेका छौँ।’
बंकरमा बसेका केही नागरिकहरुले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेको विषय पनि मन्त्री साउदले कोहेनलाई जानकारी गराएका छन्।
‘यीमध्ये केही व्यक्तिहरुले अर्को सुरक्षित वासस्थानका लागि आग्रह गर्नुभएको छ। हाम्रो दूतावासले तपाईंका अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहनुभएको छ। उहाँहरुको सुरक्षित क्षेत्रमा स्थान्तरणका लागि तपाईंहरुको सहयोग महत्वपूर्ण छ,’ उनले भने।
मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताए।
‘हामी घर फर्कन चाहने हाम्रा नागरिकहरुको विवरण संकलन गरिरहेका छौँ। पूर्ण विवरण संकलन भएपछि नेपाल सरकार सहजीकरणका लागि इजरायल सरकार समक्ष आवश्यक सहयोगका लागि आग्रह गर्ने छ,’ उनले भने।
कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्ध रहेको पनि बताए।
इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरेका थिए।
इजरायल अहिले कठीन मोडमा रहेको उनले बताए। मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने बताएका थिए।