नेकपा (एमाले) सुदूरपश्चिमको जारी अधिवेशनमा नेतृत्व चयन प्रक्रिया लम्बिएको छ।
मंगलबार साँझ ५ बजेबाट मतदानको समय निर्धारण गरिएको भए पनि उम्मेदवारको नामावली प्रकाशन गर्न नै ढिलाइ भएको छ।
निर्वाचन कमिटीले प्रकाशन गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा अछामकै तीन जना प्रत्याशी देखिएका छन्। कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र भरत साउदले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
कञ्चनपुरका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।
उपाध्यक्षमा हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद, बलदेव रेग्मी, रणबहादुर महराले उम्मेदवारी दिएका छन्।
सचिवमा तीन जनाको उम्मेदवारी परेको छ। जसमा रणबहादुर चन्द, राजेशकुमार खाती, रतनराज रेग्मीको उम्मेदवारी परेको छ।
उपसचिव महिलातर्फ भागिरथी बिष्ट तिमिल्सिना, कन्दकला राना र अर्चना गहतराजको उम्मेदवारी परेको छ। उपसचिव खुलामा ६ जनाको उम्मेदवारी परेको छ। अशोककुमार चन्द, नरबहादुर बिक, रामदत्त जोशी, हरदेवी जोशी, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालले उम्मेदवारी दिएका छन्।
लेखा समितिको पदाधिकारीमा भने एक/एक जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा राजेन्द्रसिंह सामन्त, उपाध्यक्षमा धनीराम लुहार र सचिवमा पदम सिंह धामीको उम्मेदवारी परेको छ।
नेतैपिच्छेका उम्मेदवार
स्थानीय तहको गुटबन्दी सुदूरपश्चिममा छताछुल्ल भएको छ। एमाले सुदूरपश्चिममा भीम रावलको उल्लेख्य प्रभाव थियो। दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेपछि एमालेको राजनीतिमा उनी पाखा परेका छन्। पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्रमा उनलाई बोलाइएन।
पहिलो प्रदेश अधिवेशनको बन्दसत्रमा आइपुग्दा एमाले सुदूरपश्चिममा स्पष्टै तीन धार देखिएको छ। पहिलो धारको नेतृत्व कर्ण थापाले गरेका छन्। उनको समूहबाट अछामका कृष्णप्रसाद जैसीले उम्मेदवारी दिएका छन्। जैसी अछामका पूर्वजिविस सभापति हुन्। जैसीका पक्षमा केन्द्रीय सदस्य नारदमुनि राना, निरूदेवी पाल, गौरी वली, ऐन महर, नरबहादुर धामी लगायतको साथ देखिन्छ।
दोस्रो धारको नेतृत्व दामोदर भण्डारीले गरेका छन्। प्रदेशका निवर्तमान अध्यक्ष उनले अछामकै कमल तिमिल्सिनालाई अध्यक्षका रूपमा उम्मेदवारको रूपमा अघि सारेका छन्। निवर्तमान कमिटीका उपाध्यक्ष रहेका उनलाई केन्द्रीय सदस्य झपट रावल, दयालबहादुर शाही, प्रकाश शाह, तारा लामा तामाङ, राजेन्द्रसिंह रावल, लीला भण्डारी, गणेशसिंह ठगुन्ना, कमला बोहोरा, लालबहादुर थापा, आशा बिक, पुरनसिंह दयाल, अखिलाल ओखेडालगायतको समर्थन देखिन्छ। यो समूहलाई भित्रभित्रै भीम रावलले पनि सघाइरहेका छन्।
पूर्वमाओवादी धारको नेतृत्व गरेका लेखराज भट्टले अध्यक्षमा केपी ओलीनिकट केही नेतालाई साथ लिएर बचनबहादुर सिंहलाई अघि सारेका छन्। उनको टिममा गौरीशंकर चौधरीलगायत पूर्वमाओवादी नेताहरू पनि छन्।