अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाममा सहमति हुन नसकेपछि एमाले सुदूरपश्चिममा निर्वाचनको अर्को कार्यतालिका निकालिएको छ।
मंगलबार अबेर राति प्रकाशन गरिएको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताको समय बुधबार बिहान ९:३० बजेसम्मलाई तय गरिएको छ। बिहान दस बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। एमाले सुदूरपश्चिममा ६ सय ५७ जना प्रतिनिधि रहेका छन्।
स्रोतका अनुसार अध्यक्ष मण्डलले केन्द्रको निर्देशनअनुसार चुनाव नगरी सर्वसम्मत नेतृत्व छान्ने प्रयास हिजो राति अबेरसम्म गरेको थियो।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन नगरी अध्यक्ष मण्डलका अध्यक्ष छविलाल विश्वकर्मा सहितका नेताहरूले सहमतिको मस्यौदा तयार पारेका थिए। स्रोतका अनुसार कमल तिमिल्सिनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने आश्वासन दिइएको थियो र कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने गरी सहमतिको मस्यौदा तयार गरिएको थियो।
अध्यक्षका प्रत्याशी तिमिल्सिना सहमत नभएपछि चुनाव नै हुने पक्का भएको एक प्रतिनिधिले बताए।
स्थायी कमिटी सदस्य कर्ण थापाले भने जैसीलाई नै अध्यक्ष बनाउने गरी सहमति भइसकेको दाबी गरे।
‘सहमति भइसकेको छ। केही प्राविधिक कामहरू बाँकी छ। प्रक्रियाका लागि निर्वाचन तालिका पुनः निकालिएको हो। कतिपय क्लस्ट (निर्वाचन क्षेत्र) मिलाउन बाँकी रहेको छ,’ उनले सेतोपाटीसँग भने।
अध्यक्षमा प्रस्ताव गरिएका जैसी कर्ण थापाले नै अघि सारेका उम्मेदवार हुन्। यसअघि पार्टी महासचिव शंकर पोखरेलले पनि अध्यक्षका आकांक्षी तिमिल्सिना, जैसी र बचनबहादुर सिंहलाई राखेर छलफल गरेका थिए। उनले जैसीलाई अध्यक्ष बनाउने, तिमिल्सिनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने र बचन सिंहलाई पदाधिकारी बनाएर लैजाने गरी सहमतिको बाटो खोजेका थिए।
तिमिल्सना र सिंह सहमति हुन नसकेपछि अधिवेशन निर्वाचनमा गएको प्रतिनिधिहरूले बताए।
अध्यक्ष मण्डलले मंगलबार राति उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्दलाई बनाउने गरी प्रस्ताव तयार पारेको थियो।
त्यस्तै खुला उपसचिवमा कैलालीका नेपालु चौधरी र महिला उपसचिवमा कञ्चनपुरका कलसा महरालाई प्रस्ताव गरिएको छ।
उम्मेदवारी नै दर्ता नगरेको चौधरी र महरालाई उपसचिव प्रस्ताव गरिएको भन्दै प्रत्याशीहरूले विरोध जनाएका थिए।
उपसचिवमा उम्मेदवारी दिएका नरबहादुर विश्वकर्माले सहमतिका नाममा अध्यक्ष मण्डलले पढ्ने नाम मान्य नहुने बताएका थिए।
‘अध्यक्ष मण्डलले उम्मेदवारी नै नदिएकालाई उपसचिवमा नाम प्रस्ताव गर्न खोजिएको रहेछ, नेताहरूले नाम पढेर सुनाउने भए अधिवेशन किन गर्नुप¥यो?,’ उनले सेतोपाटीसँग भने, ’मेरो उम्मेदवारी कायम छ।’
एमाले सुदूरपश्चिममा नेतैपिच्छेको उम्मेदवारी परेको छ। स्थायी कमिटी सदस्य थापाले जैसीलाई अध्यक्षमा अघि सारेका हुन्। प्रदेश कमिटीका निवर्तमा अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले तिमिल्सिनालाई अघि सारेको बताइएको छ। भीम रावल पक्षधरहरूले भरत साउद र पार्टी सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले बचनबहादुर सिंहलाई अघि सारेको एमालेका एक नेताले बताए।
सुरूमा रावल पक्षधरले प्रदेश कमिटीका निवर्तमान उपाध्यक्ष समेत रहेका तिमिल्सिनालाई समर्थन गरेको थियो। तर उनले खुट्टा टेक्नेमा शंका गर्दै अन्तिममा रावल समूहले छुट्टै उम्मेदवार खडा गरेको बताइएको छ।
अधिवेशनले १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।
एमालेले असोज महिनाभरिमा प्रदेश अधिवेशन गरिसक्ने छ। लुम्बिनी, बागमती, कर्णाली, कोशी र उपत्यका विशेष प्रदेशको अधिवेशन भइसकेको छ। मधेस प्रदेशको अधिवेशन आजबाट सुरू हुँदै छ। उपत्यका विशेष प्रदेशमा प्रेम पराजुली सर्वसम्मत अध्यक्ष छानिए। त्यहाँ पूरै कमिटी सर्वसम्मत चुनियो। बाँकी ५ प्रदेशमा भने चुनाव भएको थियो।
