नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका बचनबहादुर सिंहले सर्वसम्मतिका नाममा प्रतिनिधिलाई बन्धक बनाइएको बताएका छन्।
उनले सहमति भयो भन्दै अध्यक्ष मण्डलका तर्फबाट प्रतिनिधिलाई विवेक नै प्रयोग गर्न नदिई नाम घोषणाको तयारी गरेको भन्दै विरोध जनाएका हुन्।
‘एमालेमा विद्यमान दास प्रथा, हलिया प्रथा हटाउनका लागि हामीले उम्मेदवारी दिएका हौं। सर्वसम्मतिका नाममा प्रतिनिधिलाई बन्धक बनाइएको छ। म उम्मेदवारी फिर्ता लिन्नँ। अरूले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्,’ उनले सेतोपाटीसँग भने।
एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेतृत्व चयन पेचिलो बनेको छ। मंगलबार राति अध्यक्ष मण्डलका तर्फबाट कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने गरी सहमतिको प्रयास भएको थियो। त्यसमा अध्यक्षका अरू प्रत्याशी सहमत नभएपछि मंगलबार राति नै बुधबार दिउँसो १ बजेबाट मतदान गर्ने गरी कार्यतालिका निकालिएको थियो।
बुधबार बिहान पुनः संशोधन गर्दै दिउँसो २ देखि साँझ ७ बजेसम्मलाई मतदानको समय तोकिएको छ। अध्यक्षमा अछामका कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी, भरत साउद र कञ्चनपुरका सिंहको उम्मेदवारी परेको छ। अधिवेशनले १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।