एमाले सुदूरपश्चिमा अध्यक्षमा प्रत्याशी कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्।
उनले कृष्णप्रसाद जैसीलाई सहमतिको अध्यक्ष बनाउन उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
‘अरू प्रदेशमा चुनाव भयो। यहाँ विभाजित भएर नजाऔं। सहमतिमा नेतृत्व छानौं भनेर नेतृत्वले भन्नुभयो। मैले उहाँहरूको निर्देशन पालना गर्दै उम्मेदवारी फिर्ता लिएँ,’ उनले सेतोपाटीसँग भने।
अध्यक्षका प्रत्याशी भरत साउद र बचन सिंहले उम्मेदवारी फिर्ता लिएका छैनन्। उनीहरूसँग पनि सहमतिका लागि संवाद भइरहेको तिमिल्सिनाले बताए।
अध्यक्षका प्रत्याशी साउद, सचिवका प्रत्याशी रतनराज रेग्मी र उपसचिवका प्रत्याशी नरबहादुर बिकले सामुहिक विज्ञप्ति निकालेर सहमतिका नाममा भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। उनले विधिमार्फत् नेतृत्व छान्न र प्रतिनिधिलाई विवेक प्रयोग गर्न दिन भनेका छन्।

स्रोतका अनुसार अध्यक्ष मण्डलले केन्द्रको निर्देशनअनुसार चुनाव नगरी सर्वसम्मत नेतृत्व छान्ने प्रयास हिजो राति अबेरसम्म गरेको थियो।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन नगरी अध्यक्ष मण्डलका अध्यक्ष छविलाल विश्वकर्मा सहितका नेताहरूले सहमतिको मस्यौदा तयार पारेका थिए। स्रोतका अनुसार कमल तिमिल्सिनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने आश्वासन दिइएको छ।
कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने गरी सहमतिको मस्यौदा तयार पारिएको छ।
उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्दलाई बनाउने प्रस्ताव छ। त्यस्तै खुला उपसचिवमा कैलालीका नेपालु चौधरी र महिला उपसचिवमा कञ्चनपुरका कलसा महरालाई प्रस्ताव गरिएको छ। उम्मेदवारी नै दर्ता नगरेको चौधरी र महरालाई उपसचिव प्रस्ताव गरिएको भन्दै प्रत्याशीहरूले विरोध जनाएका छन्।
अध्यक्षमा उम्मेदवारी दिएका बचनबहादुर सिंहले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन्।
सर्वसम्मतिका नाममा प्रतिनिधिलाई बन्धक बनाइएको उनले आरोप लगाए।
सहमति भयो भन्दै अध्यक्ष मण्डलका तर्फबाट प्रतिनिधिलाई विवेक नै प्रयोग गर्न नदिई नाम घोषणाको तयारी गरेको भन्दै उनले आपत्ति जनाए।
‘एमालेमा विद्यमान दास प्रथा, हलिया प्रथा हटाउनका लागि हामीले उम्मेदवारी दिएका हौं। सर्वसम्मतिका नाममा प्रतिनिधिलाई बन्धक बनाइएको छ। म उम्मेदवारी फिर्ता लिन्नँ। अरूले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्,’ उनले सेतोपाटीसँग भने।
एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेतृत्व चयन पेचिलो बनेको छ। मंगलबार राति पनि अध्यक्ष मण्डलका तर्फबाट कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने गरी सहमतिको प्रयास भएको थियो। त्यसमा अध्यक्षका अरू प्रत्याशी सहमत नभएपछि मंगलबार राति नै बुधबार दिउँसो १ बजेबाट मतदान गर्ने गरी कार्यतालिका निकालिएको थियो।
बुधबार बिहान पुनः संशोधन गर्दै दिउँसो २ देखि साँझ ७ बजेसम्मलाई मतदानको समय तोकिएको छ। अधिवेशनले १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।