नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका बचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।
सहमतिका लागि आफू बाधक नबन्ने भन्दै उनले बुधबार दिउँसो उम्मेदवारी फिर्ता लिएका हुन्।
अब भीम रावल पक्षका भरत साउद मात्रै बाँकी रहेको र नेतृत्व चयन सर्वसम्मतिको दिशामा गएको स्थायी कमिटी सदस्य कर्ण थापाले जानकारी दिए।
‘अन्यत्र नभएका ठाउँमा पनि गुट बनाए। हामी गुटरहित एमाले बनाउने अभियानमा छौं। अधिकांश पदमा सर्वसम्मत भइसकेको छ,’ थापाले सेतोपाटीसँग भने। अध्यक्ष पदमा उम्मेदवारी दिएका बचनबहादुर सिंह र कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता गरेसँगै दुई जना उम्मेदवार बाँकी छन्।
रावल पक्षका साउद र कृष्णप्रसाद जैसी उम्मेदवार रहेका छन्।
उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही निर्विरोध भइसकेका छन्। उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, हजारी साउद, बलदेव रेग्मी, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन्।
सचिवमा रणबहादुर चन्द पक्ष र रतन राज रेग्मीको उम्मेदवारी बाँकी रहेको छ। सचिवमा उम्मेदवारी दिएका राजेशकुमार खातीले उम्मेदवारी फिर्ता लिएका छन्।
महिला उपसचिवमा भागिरथी विष्ट र तिमिल्सेना कन्दकला राना र कलशा महरा छन्। त्यस्तै खुला उपसचिवमा नरबहादुर बिक र अशोककुमार चन्दको उम्मेदवारी बाँकी छ।
महिला उपसचिवमा उम्मेदवारी दिएकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएकी छिन्।
खुलातर्फ रामदत्त जोशी, हरिदत्त जोशी पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
प्रदेश सदस्य भूगोलमा डडेल्धुरा, दार्चुला, डोटी र बाजुरा जिल्ला सर्वसम्मत भएको, बैतडी र बझाङमा युवा, महिला आदि क्लस्टरमा निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत पदम पालले जानकारी दिए।
उनले सर्वसम्मत हुन नसकेका पदमा भोलि बिहान ८ बजेलाई मतदान गर्ने गरी निर्वाचन तालिका संशोधन गर्न लागिएको पनि जानकारी दिए।
एमाले सुदूरपश्चिममा भीम रावलको पनि प्रभाव छ। अध्यक्ष, सचिव र उपसचिवमा रावल पक्षधरहरूले उम्मेदवारी कायम राखेका छन्। उपसचिवमा भागिरथी विष्ट र नरबहादुर बिकलाई समेट्ने हो भने बाँकी पद निर्विरोध गर्न आफूहरू बाधक नबन्ने एक नेताले बताए।
अधिवेशनले १ सय ५५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ।