भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भूमिभित्र पर्ने गुञ्जी गाउँमा पुगेका छन्। टाइम्स अफ इन्डियाका अनुसार मोदी बिहीबार गुञ्जी गाउँमा गएका हुन्। त्यहाँ उनले स्थानीयहरूसँग छलफल पनि गरेका छन्।
गुञ्जी जानुअघि ट्विट गर्दै मोदीले आफ्नो भ्रमणबारे सामाजिक सञ्जाल एक्समा गुञ्जी गाउँका वासिन्दासँग पनि संवादको सुअवसर मिल्ने बताएका थिए।
गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको नेपाली भूमि हो। २०७७ जेठ ३१ गते नेपालको संसदले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने गरी संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको थियो।
नेपालले नयाँ नक्सा सार्वजनिक गरेको झन्डै साढे ३ वर्षपछि भारतीय प्रधानमन्त्री मोदी गुञ्जी गाउँ गएका हुन्।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले अतिक्रमण गरेको नेपाली भूमिमा आएर मोदीले त्यो भूमि भारतकै हो भनी पक्का गर्न खोजेको बताए।
श्रेष्ठका अनुसार उक्त ठाउँमा भारतले काली मन्दिर पनि बनाएको छ। सोही काली मन्दिरबाट नालाजस्तो निकालेर काली नदी यहीँबाट सुरू भएको हो। लिम्पियाधुराबाट होइन भन्ने ब्याख्या गर्ने गरेको छ।
‘मेरो जानकारी भएसम्म अहिलेसम्म भारतीय प्रधानमन्त्री त्यो ठाउँमा गएर पूजा गरेको थाहा छैन,’ श्रेष्ठले भने,‘हामीले नक्सा जारी गरेपछि मोदी पहिलो पटक पुगेका हुन्। उनी यो भूमि आफ्नै हो भनेर पक्कामाथि पक्का गर्न गएका हुन् जस्तो लाग्छ।’
मोदीको गुञ्जी भ्रमणबारे नेपाली प्रशासनलाई केही जानकारी छैन।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले मोदी गुञ्जी गएको समाचारहरू हेरेर थाहा पाएको बताए।