उपत्यका विशेष र सुदूरपश्चिममा सहमतिमै नेतृत्व टुंग्याएपछि मधेस प्रदेशमा पनि एमालेले सर्वसम्मतिमै नेतृत्व छान्ने कसरत गरिरहेको छ।
जनकपुरको तिरुहुतिया गाछीस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा चलिरहेको बन्दसत्रमा जिल्ला-जिल्लाबाट सर्वसम्मत रूपमा सदस्य छान्न छलफल भइरहेको केन्द्रीय सदस्य सरोज यादवले जानकारी दिए।
‘अहिले जिल्ला-जिल्लालाई आफैं सर्वसम्मत गर भनेर छोडिदिएका छौं,’ उनले सेतोपाटीसँग भने, ‘सहमतिमा सदस्य छानिएनन् भने निर्वाचनको प्रक्रिया सुरू हुन्छ।’
अध्यक्ष मण्डलले प्रदेश पदाधिकारी पनि सहमतिमै टुंग्याउने प्रयास गरिरहेको छ।
बुधबार उद्घाटन सत्र सकिएलगत्तै पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष योगेश भट्टराईलगायत नेता बसेर सहमति खोज्ने प्रयास गरेका थिए।
तर, अध्यक्षका आकांक्षीले पछि हट्ने मनस्थिति देखाएका छैनन्।
प्रदेश अध्यक्षमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल र बिचारी यादवसँगै धनुषाका राजकिशोर यादवले आकांक्षा राखेका छन्।
वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहाको सुखीपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकाले उनी अध्यक्षमा दोहोरिन पाउँदैनन्।
त्यसैगरी सचिवका लागि सोमप्रसाद शर्मा, आरती भण्डारीलगायत आकांक्षी छन्।

स्रोतका अनुसार मधेस प्रदेशमा पनि नेतैपिच्छेका उम्मेदवार छन्। पार्टी सचिव तथा कोशी इन्चार्ज रघुवीर महासेठले सर्लाहीका राजनारायण साह अघि सारेका छन्। पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठले चन्देश्वर मण्डललाई अघि सारेका छन्। त्यसमा मधेस इन्चार्ज भट्टराईको पनि समर्थन रहेको नेताहरूले दाबी गरेका छन्।
मधेस संसदीय दलका नेता तथा केन्द्रीय सदस्य सरोज यादवले धनुषाका लक्ष्मीनारायण यादवलाई अघि सारेका छन्।
पर्साका बिचारी यादव र धनुषाका राजकिशोर यादवले पनि अध्यक्षमा आकांक्षा राखेका छन्।
अन्तिममा सिराहाका चन्देश्वर र सर्लाहीका राजनारायणबीच नै प्रतिस्पर्धा हुने एक नेताले बताए।
प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ३५ जना प्रदेश कमिटीमा निर्वाचित हुने छन्। प्रदेश कमिटीमा एक तिहाइ महिला अनिवार्य गरिएकामा दलित, महिला, मुस्लिम, मजदुर, जनजाति र खुला भूगोलबाट प्रतिनिधित्व गरिने भएको छ ।
प्रदेशका आठ जिल्लामा चार/चार वटा निर्वाचन क्षेत्रबाट २० सदस्य र सङ्गठनको आधारमा पाँचदेखि १० जना थप गरी अधिवेशनका लागि खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ।