पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति रामचन्द्र पौडेलसँग ढुंगा, गिट्टी, बालुवा उत्खननको निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराएका छन्।
पूर्वराष्ट्रपति यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेललाई भेटेर सो ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति यादवसहित विज्ञहरूले गरेको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्नभण्डार रहेको तराई-मधेशको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पनि पूर्वराष्ट्रपति यादव लगायत विज्ञहरूलाई बताएका थिए।
असोज १६ गते बसेको मन्त्रिपरिषदको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक स्वीकृत गरी संसदमा पेश गर्ने निर्णय गरेको थियो।
सो विधेयकमा हाल बन्द भएको गिट्टी, ढुंगा, बालुवा उत्खनन गरी निकासी गर्ने बारेमा उल्लेख भएको पनि पूर्वराष्ट्रपति यादवले जानकारी गराएका थिए।
पूर्वराष्ट्रपति यादवले सो विधेयक संसदबाट जस्ताको त्यस्तै पारित भए राष्ट्रको अस्तित्वमाथि नै खतरा आइपर्ने चिन्ता प्रकट गर्दै आफ्नो पनि राष्ट्रिय कर्तव्य भएकाले विज्ञहरूसहित राष्ट्रपति समक्ष आग्रह गर्न आउनुपरेको बताएका थिए।
‘राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति नामको यो परियोजना राष्ट्रपतिको नाममा जोडिएको र म पनि यसमा संलग्न भइसकेको हुनाले राज्यले यसलाई बेवास्ता गरिरहँदा त्यसमा राष्ट्रपतिको ध्यानाकर्षण गराउनु आफ्नो पनि कर्तव्य हो भनेर भेट्न आएको हुँ,’ यादवले भनेका थिए, ‘अन्नको भण्डार नष्ट भइरहेको छ, अब पनि चुरे दोहन नरोक्ने हो भने गम्भीर अवस्था सृजना हुनसक्छ।’
सो अवसरमा पूर्वराष्ट्रपति यादवसँग चुरे विज्ञ विजयकुमार सिंह दनुवार, वनस्पति विज्ञ तीर्थबहादुर श्रेष्ठ, जैविक विविधता विज्ञ रामप्रसाद चौधरी, वन तथा चुरे विज्ञ विनोद भट्ट, नागेन्द्र यादव, कृषि विज्ञ कृष्ण पौडेल सहभागी थिए।