कोशीमा शेखर कोइराला पक्षले विद्रोह गरेर एमालेसित सत्ता समीकरण गरेपछिको अवस्थाबारे छलफल गर्न नेपाली काङ्ग्रेस प्रदेश कार्यसम्पादन समिति बैठक आज बस्दैछ।
विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने काङ्ग्रेसले जनाएको छ।
‘केन्द्रको बैठक पनि बसिरहेको छ, प्रदेशको बैठक पनि हुँदैछ" , प्रदेश महामन्त्री भुपेन्द्र राइले भने,’ हामी छलफल गरेर अघि बढ्नेछौ।’
विहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि काङ्ग्रेस कोशीका ८ जना सासदले एमालेसग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए।
आङ्बो र कार्की दुवैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन।
सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज बेलुका ५ बजे सकिदैछ।
पार्टीका ८ जना सासदले विद्रोह गरेपछि दबाबमा परेको काङ्ग्रेस सस्थापनले पार्टी निर्देशन अवज्ञा गर्ने छुट कसैलाई नहुने बताइरहेको छ।
‘अहिले सदनमा ह्विप नलाग्ला, पार्टी अनुशासन, आचारसंहिता पालना त गर्नुपर्छ,’ प्रदेश सभापतिसमेत रहेका ससदीय दलका नेता उद्वव थापाले भने, ‘आजको प्रदेश कार्यसम्पादन बैठकबाट हामी निर्णय लिनेछौं।’